वर्षाले दुई दिन पछि सर्‍यो डिपिएल

निरन्तार वर्षाका कारण सर्वाधिक पुरस्कार राशिको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) २ दिन पछि सरेको छ । डिपिएल आज (शनिबार)बाट सुरु हुने कार्यक्रम थियो, तर वर्षका कारण डिपिएल सोमबारबाट सुरु हुनेछ ।

यद्यपि प्रतियोगिताको उद्घाटन भने शनिबार गर्ने तयारी आयोजकले गरेको छ । डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीका अनुसार शनिबार नै धनगढीको स्थानीय होटलमा प्रतियोगिता उद्घाटन गरिने छ । तेस्रो डिपिएलको पहिलो खेलमा धनगढी स्टार्स र विराटनगर किंग्स भिड्ने छन् ।

प्रतियोगिता उद्घाटन अवसरमा एक पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान दिने एक व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप रु एक–एक लाख प्रदान गरिने शाहीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ३० लाख रुपैयाँ पुरस्कार पाउने छ । यस्तै उपविजेताले १२ लाख, तेस्रोले ४ लाख र चौथो हुने टोलीले २ लाख रुपैयाँ पाउने छन् ।

प्रतियोगितालाई रुस्लानले मुख्य प्रायोजन गरेको छ भने नबिल बैंक, गोलस्टार जुत्ता, जगशक्ति स्टिल, नेपाल मेडिसिटी हस्पिटललगायतले सह प्रायोजन गरेका छन् ।

यसैगरी प्रतियोगिताको ‘गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयर’ले (सुनको जुत्ता), प्रत्येक खेलका नबिल बैंक ‘म्यान अफ दी म्याच’लाई रु १५ हजार, ‘म्यान अफ दी सिरिज’, ‘बेस्ट ब्याट्सम्यान’ र ‘बेस्ट बलर’लाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद्बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ ।

ट्रफी सार्वजनिक
तेस्रो धनगढी प्रिमियर लिगको ट्रफी शुक्रबार सार्वजनिक गरिएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा डिपिएलका सद्भावना दूतमा जोन्टी रोड्स र डिसिएका अध्यक्ष शाहीले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका थिए ।

ट्रफी सार्वजनिक कार्यक्रममा बालविवाहविरुद्धको अभियानमा पनि हस्ताक्षर गरिएको थियो । डिपिएलमा सहभागी टोलीका कप्तान, खेलाडी र मालिकले बालविवाहविरुद्धको अभियानमा हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP