वेस्टइन्डिजका स्टार ड्वायन स्मिथ इपिएलमा

वेस्टइन्डिजका चर्चित अलराउन्डर ड्वायन स्मिथ एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । अगामी चैतमा त्रिवि क्रिकेट मैदानमा हुने इपिएल स्मिथले भैरहवा ग्लाडिएटर्सबाट खेल्नेछन् ।

नेपालमा क्रिकेट खेल्न आउन लागेका स्मिथ अहिलेसम्मकै चर्चित क्रिकेटर हुन् । यसअघि आयरल्यान्ड, दक्षिण अफ्रिका, नेदरल्यान्ड, स्कटल्यान्ड, युएई र हङकङका खेलाडीले नेपालमा फ्रेन्चाइज लिग खेलिसेकेका छन् । विश्वक्रिकेटमा आफ्नो छुट्टै छाप छोडेका स्मिथलाई भैरहवाले आइकोनिक खेलाडी बनाएको छ ।

३६ वर्षीय स्मिथले नेपालमा क्रिकेट खेल्न पाउँदा खुसी लागेको बताएका छन् । ‘म भैरहवाबाट एभरेस्ट प्रिमियर लिगमा खेल्दै छु, नेपालको भ्रमण गर्न पाउँदा ज्यादै खुसी छु,’ स्मिथले भनेका छन्, ‘मैले विभिन्न माध्यमबाट नेपालको प्राकृतिक सौन्दर्यबारे सुनेको छु, अब त्यो प्रत्यक्ष हेर्न र अनुभव गर्न पाउनेछु ।’

स्मिथले नेपाल आउन आफू लालायित भइरहेको जनाएका छन् । ‘नेपाल आउन हतार भइसकेको छ,’ उनले भनेका छन्, ‘मलाई विश्वास छ, समर्थक मैदानमा हुनेछन् ।’

भैरहवाका कप्तान शरद भेषवाकरले स्मिथ अनुबन्धित भएकोमा आफूलाई विश्वास नलागेको बताए । ‘मलाई अझै पनि विश्वास लागेको छैन, वेस्टइन्डिजकै पावरहाउस र इन्डियन प्रिमियर लिगकै एक हस्ती भैरहवामा आबद्ध भएका छन्,’ भेषवाकरले भने, ‘स्थिमसँग युवा खेलाडीले धेरै सिक्ने अवसर पाउनेछन् ।’

भैरहवाका मालिक सांकेत सांघाईले आइकोनिक खेलाडीको खोजीका क्रममा स्मिथको नाम प्रस्तावित भएको बताए । स्मिथलाई भैरहवामा आबद्ध गर्न पाउँदा आफू उत्साहित रहेको सांघाईको भनाइ छ । ‘नेपाली खेलाडीले विश्वकै एक लिजेन्ड खेलाडीसँग अनुभव बटुल्ने अवसर पाउनेछन्,’ सांघाईले भने, ‘समग्रमा यो इपिएलकै गौरवको पक्ष हो ।’

दायाँहाते ब्याट्सम्यान र बलर स्मिथले आफ्नो करिअर घरेलु टोली बाबडोर्सबाट सुरु गरेका थिए । उनी आइपिएलमा सन् २००८ देखि २०१७ सम्म आबद्ध भए । उनले चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्स र डेकेन चार्जर्सबाट खेलेका थिए । यसका साथै उनले बंगलादेश, पाकिस्तानलगायतका घरेलु लिगमा सहभागिता जनाइरहेका छन् । उनी अहिले अस्ट्रेलियामा न्यु साउथ वेल्सबाट प्रतिस्पर्धा गर्दै आएका छन् ।

वेस्टइन्डिजको राष्ट्रिय टोलीबाट तीनवटै फम्र्याटमा स्थान बनाएका स्मिथले २००४ मा दक्षिण अफ्रिकाविरुद्ध टेस्ट र एकदिवसीयमा डेब्यु गरेका थिए । यसैगरी, टी–२० खेलमा उनले दुई वर्षपछि स्थान बनाए । न्युजिल्यान्डविरुद्ध उनले टी–२० मा डेब्यु गरेका थिए । वेस्टइन्डिजको टी–२० टोलीबाट उनले ३३ खेलमा तीन अर्धशतकको मद्दतमा ५८२ रन बनाएका छन् ।

यसैगरी, बलिङमा उनले टी–२० मा सात, टेस्टमा सात र एकदिवसीयमा ६१ विकेट लिएका छन् । उनले अन्तिमपटक राष्ट्रिय टोलीबाट सन् २०१५ मा युएईविरुद्ध खेले । स्थिमले आईपिएल मुम्बई इन्डियस, चेन्नई सुपरकिंग्स, गुजरात लायन्स, डेकन चाजर्सबाट खेलेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.