वेस्टइन्डिजविरुद्धको दोस्रो टि–२०मा पाकिस्तान विजयी

वेस्ट इन्डिजविरुद्धको दोस्रो टि–२० मा पाकिस्तान विजयी भएको छ। शनिबार राति गुएनामा भएको खेलमा पाकिस्तानले वेस्टइन्डिजलाई ७ रनले हराएको हो।

पहिला ब्याटिङ गर्दै पाकिस्तानले दिएको १५८ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १५० रन मात्र बनायो। उसका लागि निकोलस पुरनले सर्वाधिक ६२ रन बनाए पनि अन्यले गतिलो योगदान दिन नसक्दा टिम पराजित भयो । पुरनले ३३ बल खेल्दै ४ चौका र ६ छक्का प्रहार गरे।

यस्तै इभिन लेविसले ३५, सिम्रन हेटमायरले १७, क्रिस गेल १६ रनमा बनाउँदा कप्तान केइरन पोलार्डले १३ रन बनाए । पाकिस्तानका साहीन साह अफ्रिदी, मोहमद हाफिज, हसन अली र मोहमद वासिमले समान १ विकेट लिए।

पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । उसका लागि कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय योगदान दिए । उनले ४० बलमा ४ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै, मोहमद रिजवानले ३६ बलमा ४६ रन बनाए । योसँगै उनी सन् २०२१मा टि–२० क्रिकेटमा सर्वाधिक बनाउने बनेका छन्। उनले सन् २०२१ मा ७५२ रन बनाइसेकका छन्। वेस्टइन्डिजका जासन होल्डरले ४ र ड्वाने ब्राभोले २ विकेट लिए।

जितसँगै पाकिस्तानले ४ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ। पहिलो खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो।

Facebook Comments Box