भारतविरुद्धको दोस्रो टेस्टमा दक्षिण अफ्रिका विजयी

भारतविरुद्धको दोस्रो टेस्टमा घरेलु टोली दक्षिण अफ्रिका विजयी भएको छ । बिहीबार सकिएको टेस्टमा दक्षिण अफ्रिकाले भारतमाथि ७ विकेटको सहज जित निकाल्यो ।

योसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा आइपुगेको छ। पहिलो टेस्टमा भारत ११३ रनले विजयी भएको थियो ।

जोहनिसबर्गमा भारतले दिएको २४० रनको लक्ष्य दक्षिण अफ्रिकाले ६७।४ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । उसका लागि कप्तान डियन इल्गरले नटआउट ९६ बनाए । यस्तै, रस्सीइ भान डेर डुसानले ४० रनको योगदान दिए । भारतका मोहम्मद सिराज, शार्दुल ठाकुर र रविचन्द्रन आश्विनले समान १ विकेट लिए।

यसअघि भारतले पहिलो इनिङमा २०२ मात्र बनाएको थियो । उसका लागि कप्तान केएल राहुलले ५० र आविश्वनले ४६ रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्। भारतलाई सस्तैमा समेट्ने क्रममा मार्को जान्सेनले ४ तथा डुआने ओलिभर र कागिसो रबाडाले समान ३ विकेट लिए ।

दक्षिण अफ्रिकाले पहिलो इनिङमा २२९ रन बनाएको थियो । उसका लागि किगन पिटरसनले ६२ र टेम्बा बावुमाले ५१ रन बनाएका थिए । भारतका शार्दुल ठाकुरले ७ तथा मोहम्मद सामीले २ विकेट लिए ।

दोस्रो इनिङमा भारतले चेतेश्वर पुजारा र अजिन्का रहानेले अर्धशतकीय इनिङ मद्दतमा २६६ रन बनायो । उसका रहानेले ५८ तथा पुजाराले ५३ रन बनाउँदा हनुमान बिहारीले नटआउट ४० रन बनाए। दक्षिण अफ्रिकाका रबाडा, लुंगी एनगिडी र जान्सेनले समान ३ विकेट लिए।

अब सिरिजको अन्तिम तथा निर्णायक टेस्ट जनवरी ११बाट केपटाउनमा हुनेछ।

Facebook Comments Box