अन्तर्राष्ट्रिय क्रिकेटक्रिकेट

इंग्ल्यान्डले महिला र पुरुष दुवै क्रिकेटरलाई बराबर म्याच फि दिने

इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (इसिबी)ले पुरुष र महिलालाई अन्तर्राष्ट्रिय खेलमा समान म्याच फी दिने घोषणा गरेका छन्।

क्रिकेट बोर्डले एकदिवसीयमा २५ प्रतिशत र टेस्टमा १५ प्रतिशत म्याच फी बढाएको जनाएका हुन्। इंग्ल्यान्डको क्रिकेट बोर्डअन्तर्गत रहेको आइसिइसीले क्रिकेटमा समानता प्रदान गर्न महिला र पुरुषलाई प्रत्येक अन्तर्राष्ट्रिय खेलमा म्याच फी एउटै हुनुपर्ने प्रस्ताव राखेको थियो।

आइसिइसीको प्रस्ताव इसिबीले स्वीकार गर्दै आगामी अन्तर्राष्ट्रिय खेलमा पुरुष र महिला खेलाडीले बराबर म्याच फी पाउने जनाएको छ।

इंग्ल्यान्डको महिला क्रिकेट टोलीकी कप्तान हथेर नाइटले परिवर्तन आवश्यक भएको र बोर्डको पछिल्लो निर्णय स्वागतयोग्य भएको बताएकी छिन्। इसिबीले आफ्ना खेलाडी अन्तर्राष्ट्रिय ड्युटीमा रहँदा प्रतिमहिनाको पारिश्रमिकमा म्याच फी प्रदान गरेको छ।

अहिलेको निर्णयबाट खेलाडी सबै बराबर भएको सन्देश दिएको इसिबीले जनाएको छ। इसिबीले पुरुष क्रिकेट टोलीका सदस्यलाई प्रतिमहिना २०.३ प्रतिशत पारिश्रमिकसमेत थप गरेको छ। महिला खेलाडीको प्रतिमहिना पारिश्रमिक ३१ प्रतिशतले बढेको छ ।

‘यसपटक हामीले पुरुष र महिला खेलाडीको प्रतिमहिना पारिश्रमिक पनि बढाएका छौँ, महिला क्रिकेटरलाई थप उत्साहित बनाउने क्रममा पुरुषको तुलनामा परिमार्जित गरेका छौँ,’ इसिबीका प्रमुख कार्यकारी रिचार्ड ग्वाउडले भनेका छन्, ‘विश्व क्रिकेटमा यो नौलो प्रयास हुनेछ, इंग्ल्यान्डको क्रिकेट एक कदम अगाडि छ ।’

पुरुष र महिला खेलाडीलाई सम्मान गर्ने उद्देश्यले समानता प्रदान गरेको उनले बताए । ‘हामीले जे सोचेका थियौँ, त्यही लागू गरेका छौँ,’ उनले भने । परिवर्तित समाजमा पुरुष र महिलालाई एकै नजरले हेर्नुपर्ने उनको भनाइ छ ।