नाटकीय फाइनलमा इंग्ल्यान्ड बन्यो विश्व च्याम्पियन

इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना भएको क्रिकेट विश्वकप २०१९ को फाइनलमा न्युजिल्यान्डविरुद्ध नाटकीय जित हात पार्दै इंग्ल्यान्डले पहिलोपटक विश्व च्याम्पियन बनेको छ । निर्धारित ५० ओभर बराबरीमा सकिएपछि खेल सुपर ओभरसम्म पुगेको थियो । तर, सुपर ओभर पनि बराबरीमा सकिएपछि बाउन्ड्री संख्याका आधारमा इंग्ल्यान्डले उपाधि जितेको हो ।

५० ओभरको खेल बराबर

टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन जोड्यो । २४२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्ड पनि ५० ओभरमा २४१ रन जोडेर अलआउट भएको थियो ।

न्युजिल्यान्डका लागि ओपनर हेनरी निकोल्सले सर्वाधिक ५५ रन बनाएका थिए भने विकेटकिपर ब्याट्सम्यान टम लाथमले ४७ रन बनाए । निकोल्सले ७७ बल खेल्दै ४ चौका प्रहार गरे भने लाथमले ५६ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, कप्तान केन विलियम्सनले ३०, मार्टिन गुप्टिल र जिमी निशमले समान १९ रन बनाउँदा कोलिन डे ग्रान्डहोमले १९ र रोस टेलरले १५ रन मात्र बनाउन सके ।

न्यूजिल्यान्डका लागि विलियमसन र निकोल्सले दोस्रो विकेटका लागि सर्वाधिक ७४ रनको साझेदारी गरे । यस्तै, ग्रान्डहोम र लाथमले छैठौं विकेटका लागि ४६ तथा निशम र लाथमले पाँचौं विकेटका लागि ३२ रनको साझेदारी गरे ।

न्युजिल्यान्डलाई मध्यम स्कोरमा रोक्ने क्रममा क्रिस ओक्स र लिआम प्लंकेटले समान ३ विकेट लिए भने जोफ्रा आर्चर र मार्क उडले समान १ विकेट लिए । ओक्सले ९ ओभरमा ३७ रन खर्चिए भने प्लंकेटले १० आभेरमा ४२ रन खर्चिए ।

जवाफी ब्याटिङमा आएको इंग्ल्यान्डका लागि ‘प्लेयर अफ द म्याच’ बेन स्टोक्सले सर्वाधिक नटआउट ८४ रन बनाए । ९८ बल खेलेका स्टोक्सले ५ चौका र २ छक्का प्रहार गरेका थिए ।

यस्तै, ६ चौका प्रहार गरेका जोस बटलरले ६० बलमा ५९ रनको योगदान गरे । बटलर र स्टोक्सले १३० बलमा गरेको ११० रनको साझेदारीले नै इंग्ल्यान्डको विश्व च्याम्पियन बन्ने सपना सम्भव बनाएको थियो ।

इंग्ल्यान्डका लागि ओपनरद्वय जोनी बेइस्र्टो र जेसन रोयले क्रमशः ५५ बलमा ३६ रन र २० बलमा १७ रन तथा लिआम प्लंकेटले १० बलमा १० रन जोड्नु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

न्युजिल्यान्डका लागि लकि फर्गुसन र जिमि नीसामले समान ३–३ विकेट लिए भने म्याट हेनरी र ग्रान्डहोमले १–१ विकेट लिएका थिए ।

टर्निङ प्वाइन्ट

इंग्ल्यान्डलाई सुरुवातदेखि नै दवाबमा राखेको न्युजिल्यान्ड ५० ओभरको अन्त्यतिर सहज जिततर्फ अग्रसर थियो । तर, ४९औं ओभरको चौथो बलमा न्युजिल्यान्डका ट्रेन्ट बोल्टले मैदानमा आफ्नो पोजिसनको मेसो नपाउँदा टिमले ठूलो घाटा बेहोर्नुपर्‍यो ।

नीसामको बलमा स्टोक्सले मिडविकेटमा प्रहार गरेको सट बाउन्ड्रीलाइनमा बोल्टले क्याच लिए । तर, बल क्याच गर्दा शरिरमा आएको मोमेन्टम सम्हाल्न नसक्दा उनको एउटा खुट्टाले बाउन्ड्री लाइन छुन पुग्यो ।

बोलटले बल रिले गरेर गुप्टिललाई समाउन दिएपनि बल फ्याँक्नु अगाडि नै उनको खुट्टाले बाउन्ड्री लाइन छोइसकेको थियो । अन्ततः आउट हुनुको सट्टा छक्का हुन पुग्यो ।

अन्तिम ओभरमा इंग्ल्यान्डलाई जितका लागि १५ रन आवश्यक थियो, स्ट्राइकमा थिए बेन स्टोक्स । बलिङ गर्न आए ‘डेथ ओभर स्पेसलिस्ट’ ट्रेन्ट बोल्ट । पहिलो २ बल डट भएपछि तेस्रो बलमा स्टोक्सले छक्का प्रहार गरे । अब ३ बलमा ९ रन आवश्यक ।

चौथो बलमा स्टोक्सले २ रन लिनका लागि बललाई डिप मिडविकेटमा प्रहार गरे । फिल्डर मार्टिन गुप्टिलले रन आउटको सम्भावना देखेर विकेटकिपर भएतिर बल फ्याँके । तर, सो बल आउट हुनबाट जोगिन ज्यान फालेर डाइभ गरेका बेन स्टोक्सको ब्याटमा ठोकिएर बाउन्ड्रीमा पुग्यो ।

नियतवश बल छेक्न ब्याटले नहानेकाले त्यसलाई ‘अब्स्ट्रक्सन अफ फिल्ड’ अर्थात ‘फिल्डिङमा अवरोध’ मान्न सकिएन । जसकारण त्यसलाई ओभर थ्रो मान्दै इंग्ल्यान्डलाई ४ रन एक्स्ट्रा दिइयो । कुदेर २ रन जोडेको इंग्ल्यान्डले एक्स्ट्रामा ४ रन पाएपछि कुल ६ रन जोड्यो ।

जितका लागि ३ बलमा ९ रन आवश्यक रहेको अब इंग्ल्यान्डलाई २ बलमा ३ रनमात्र आवश्यक भयो । तर, २ बलमा २ रनमात्र जोडेपछि निर्धारित ५० ओभर बराबरीमा सकियो ।

सुपरओभर समेत ड्र

निर्धारित ५० ओभर ड्र भएपछि खेलाइएको सुपरओभर समेत ड्र भएको थियो । बेन स्टोक्स र जोस बटलरले इंग्ल्यान्डका लागि सुपरओभरमा १५ रन जोडेका थिए ।

१६ रनको लक्ष्य लिएर आएको न्युजिल्यान्डका लागि जिमी नीसाम र मार्टिन गुप्टिलले पनि १५ रन नै जोडेपछि सुपरओभर समेत ड्र भएको हो । सुपर ओभर ड्र भएको अवस्थामा जुन टिमले सर्वाधिक बाउन्ड्री प्रहार गरेको छ उसलाई विजेता घोषणा गर्ने आइसिसीको नियम छ ।

न्युजिल्यान्डले ५० ओभरमा कुल १६ बाउन्ड्री प्रहार गरेको थियो । यता, इंग्ल्यान्डले भने २६ वटा बाउन्ड्री प्रहार गरेको थियो । अन्ततः बाउन्ड्री संख्याका आधारमा अगाडी रहेको इंग्ल्यान्ड नियमअनुरुप विजेता घोषणा भयो ।

र, क्रिकेट खेलको सुरुवात गरेको देश इंग्ल्यान्ड ‘होम अफ क्रिकेट’ (क्रिकेटको घर) भनेर चिनिने लर्ड्स मैदानमा इतिहासमा पहिलोपटक विश्व च्याम्पियन बन्न सफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *