२७ वर्षपछि इंग्ल्यान्ड विश्वकप सेमिफाइनलमा

समूह चरणको अन्तिम खेलमा न्युजिल्यान्डमाथि प्रभावशाली जित निकाल्दै इंग्ल्यान्ड २७ वर्षपछि क्रिकेट विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । पछिल्लोपटक इंग्ल्यान्ड १९९२ को विश्वकपमा नकआउट चरण प्रवेश गरेको थियो ।

सो विश्वकपको वर्षाले प्रभावित सेमिफाइनल भिडन्तमा दक्षिण अफ्रिकालाई नाटकिय रुपमा पराजित गर्दै इंग्ल्यान्ड फाइनल प्रवेश गरेको थियो । यद्यपि, फाइनलमा पाकिस्तानसँग पराजित भएपछि इंग्ल्यान्ड उपविजेतामा सिमित भएको थियो ।

३०५ रनको लक्ष्य पाएको न्युजिल्यान्डलाई इंग्ल्यान्डका बलरले सुरुवातदेखि नै दबाबमा राखेका थिए । ओपनर हेनरी निकोल्स गोल्डेन डकआउट भए भने मार्टिन गुप्टिल १६ बलमा ८ रन जोडेर पभेलियन फर्किएका थिए ।

यस्तै, उत्कृष्ट फर्ममा रहेका कप्तान केन विलियमसन ४० बलमा २७ रन जोड्दै रनआउट भएका थिए । १६औं ओभरमा रोस टेलरले प्रहार गरेको स्ट्रेट ड्राइभ बलर मार्क उडको औंलाको टुप्पामा छोएर स्टम्पमा लागेपछि क्रिज बाहिर रहेका विलियमसन अभागी साबित हुँदै मैदान छाड्न वाध्य भएका हुन् ।

यसैगरी, १७औं ओभरमा ‘रनिङ बिट्विन द विकेट’मा चुक्दा दोस्रो रन पुरा गर्नुअघि रोस टेलर आफु पनि ४२ बलमा २८ रन जोडेर आउट हुन पुगे । त्यसपछि ब्याटिङमा आएका टम लाथमले अर्धशतक बनाउँदै न्युजिल्यान्डलाई खेलमा फर्काउने प्रयास गरे । तर, अर्को एन्डबाट लगातार विकेट पतन भएपछि उनले भरपर्दो साझेदारी नपाउँदा उनको एकल प्रयास निरर्थक बन्यो ।

लाथम ६५ बलमा ५७ रन बनाउँदा आउट भएपछि न्युजिल्यान्डको सम्मानजनक स्कोर बनाउने आशा समाप्त भएको थियो । अन्ततः ४५ ओभरमा केबल १८६ रन बनाएर अलआउट भएपछि न्युजिल्यान्ड ११९ रनको विशाल अन्तरले पराजित भयो ।

न्युजिल्यान्डलाई सस्तैमा समेट्ने क्रममा मार्क उडले सर्वाधिक ३ विकेट लिए भने क्रिस ओक्स, जोफ्रा आर्चर, लिआम प्लंकेट, अदील रसीद र बेन स्टोक्सले समान १–१ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन जोडेको थियो । इंग्ल्यान्डलाई उत्कृष्ट सुरुवात दिलाउने क्रममा ओपनरद्वय जेसन रोय र जोनी बेइस्र्टोले १२३ रनको पार्टनरसिप गरे ।

९९ बल खेलेका बेइस्र्टोले १५ चौका र १ छक्काको मद्दतमा १०६ रन बनाउँदै शतकिय इनिङ खेले । पहिलो विकेटका रुपमा १९औं ओभरमा आउट हुनुअघि रोयले ८ चौका प्रहार गर्दै ६१ बलमा ६० रन जोड्दै अर्धशतक बनाएका थिए ।

ओपनिङ चलेपनि मध्यक्रम धर्मराएपछि इंग्ल्यान्डले अपेक्षाकृत स्कोर खडा गर्न भने सकेन । तेस्रो नम्बरमा आएका जोए रुटले २४ रन र इयोन मोर्गानले ४२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनिय योगदान गर्न सकेनन् ।

आयोजक इंग्ल्यान्डको मध्यक्रम ध्वस्त पार्ने क्रममा ट्रेन्ट बोल्ट, म्याट हेनरी र जेम्स नीसामले समान २–२ विकेट लिए भने मिचेल सान्टनर र टिम साउथीले १–१ विकेट लिए ।

जितसँगै ९ खेलमा १२ अंकका साथ इंग्ल्यान्ड अंकतालिकाको तेस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको छ । महत्वपूर्ण खेलमा जित निकाल्न चुकेको न्युजिल्यान्डले ९ खेलमा ११ अंकमात्र बनाएपछि सेमिफाइनल छनोट हुन पाकिस्तान र बंगलादेशबिचको खेलको नतिजा पर्खिन वाध्य भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.