इंग्ल्यान्डलाई न्युजिल्यान्डको गतिलो जवाफ

इंग्ल्यान्डविरुद्धको दोस्रो तथा अन्तिम टेस्टमा न्युजिल्यान्डले राम्रो जवाफ दिएको छ। इंग्ल्यान्डले पहिलो इनिङमा ३०३ रन बनाएपछि इनिङ सुरुवात गरेको न्युजिल्यान्ड दोस्रो दिन खेल सकिँदा ३ विकेटको क्षतिमा २२९ रन बनाएको छ ।

उसका लागि विल योङले सर्वाधिक ८२ रन बनाए । उनले २ सय ४ बल खेल्दै ११ चौका प्रहार गरे । उनी दोस्रो दिनको अन्तिम बलमा डान लावरेन्सको बलमा आउट भए ।

ओपनर डेभोन कोन्वेले फेरि उत्कृष्ट ब्याटिङ गर्दै ८० रन बनाए । दोस्रो टेस्ट खेलिरहेका उनले १४३ बल खेल्दै १२ चौका प्रहार गरे । कोन्वेले योङसँग दोस्रो विकेटमा १२५ रनको साझेदारी गरेका थिए । दुवै स्टुवार्ट ब्रोडको बलमा आउट भए। टेलर रोस टेलर ४६ रन बनाई क्रिजमा छन् ।

यसअघि २५८–७ बाट शुक्रबार खेल थालेको इंग्ल्यान्डको पहिलो इनिङ्स ३ सय ३ रनमा टुंगिएको थियो । लावरेन्स ८१ रन बनाई अविजित रहे । उसका लागि रोरी बुर्नसले ८१ रन नै बनाउँदा मार्क उडले ४१ रनको योगदान दिए । न्युजिल्यान्डका बोल्टले २९ ओभरमा ८५ रन खर्चेर ४ र म्याट हेनरीले ३ विकेट लिए ।

Facebook Comments Box