ब्रेथवेट र डोवरिचको अर्धशतकमा वेस्टइन्डिजलाई ९९ रनको अग्रता

ओपनर क्रेइग ब्रेथवेट र मध्यक्रमका ब्याट्सम्यान शेन डोवरिचले अर्धशतकीय इनिङ खेलेपछि कोरोना महामारी पछि सुरु भएको पहिलो टेस्टमा इंग्ल्यान्डविरुद्ध वेस्टइन्डिजले पहिलो इनिङमा ९९ रनको अग्रता लिएको छ ।

तेस्रो दिनको सुरुवा ३५–१ को अवस्थाबाट सुरु गरेको वेस्टइन्डिज दिनको खेल १० ओभर बाँकी रहँदा ३१८ रनमा अलआउट भयो । उसका लािग ब्रेथवेटले सर्वाधिक ६५ रन बनाए भने डोवरिचले ६१ रन बनाए । ब्रेथवेटले १२५ बल खेल्दै ६ चौका प्रहार गर्दा डोवरिचले ११५ बलमा ८ चौका प्रहार गरे । यस्तै, रोस्टन चेसले ४७, साम्रह ब्रुक्सले ३९ र जोन क्याम्पवेलले २८ रनको योगदान दिए ।

वेस्टइन्डिजका लागि चेस र डोवरिचले छैठौं विकेठका लागि सर्वाधिक ८१ रनको सझोदारी गरेका थिए । यस्तै दोस्रो विकेटका ब्रेथवेट र साइ होपले ५९ र पहिलो विकेटका लागि ब्रेथवेट र क्याम्पवेलेले ४३ रनको साझेदारी गरेका थिए । इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले ४, जेम्स एन्डर्सनले ३, डम बेसले २ र मार्क उडले १ विकेट लिए ।

पहिलो पारीमा इंग्ल्यान्ड २०४ रनमै अलआउट भएको थियो । इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा जेसन होल्डर ६ विकेट लिए भने सानोन ग्याब्रियलले ४ विकेट लिए । होल्डरले दोस्रो दिन एक्लै ६ विकेट लिने क्रममा २० ओभर बलिङ गर्दै ६ ओभर मेडर राखेर ४२ रन खर्चिए ।

पहिलो पारीमा इंग्ल्यान्डका लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाए भने जोस बट्लरले ३५, डम बेसले ३१ र रोए ब्रुन्सले ३० रनको योगदान दिए । अन्यले भने गतिलो योगदान दिन सकेनन् । इंग्ल्यान्डले तेस्रो दिन नै आफ्नो दोस्रो पारी सुरु गरेको छ । तेस्रो दिनको खेल सकिँदा इंग्ल्यान्डले विनाक्षति १५ रन बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *