
ब्रेथवेट भन्छन्– रुटले वेस्टइन्डिजको अपमान गरे
इंग्ल्यान्ड र वेस्टइन्डिजबीचको पहिलो टेस्ट बराबरीमा सकिएको छ। वेस्टइन्डिजको नर्थ साउन्डमा शनिबार सकिएको टेस्ट अन्तिम ५ बल बाँकी छँदा दुवै टिम खेल बराबरी सक्न राजी भएका थिए ।
२८६ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले ४ विकेटको क्षतिमा १४४ रन बनाउँदा खेला बराबरीमा सकिएको थियो ।
यही खेलको विषयलाई लिएर वेस्टइन्डिजका पूर्व अलराउन्डर कार्लोस ब्रेथवेट इंग्लिस कप्तान जोरु रुटको आलोचना गरेका छन् । उनले रुटले वेस्टइन्डिजलाई अपमान गरेको पनि आरोप लगाएका छन्।
खेल बराबरीमा सकिने निश्चित भएपछि खेल अन्तिम ओभरसम्म लगेपछि ब्रेथवेटले रुटको आलोचना गरेका हुन्। अन्तिम ५ बल बाँकी छदा इंग्ल्यान्डले वेस्टइन्डिजको बाँकी रहेको ६ विकेट लिने सम्भावना नरहेपछि मात्र रुटले खेल अन्त्य गर्ने निर्णय गरेका थिए ।
जितका लागि २ सय ८६ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले ६७ रनमा ४ विकेट गुमाए पनि नक्रुमाह बोनर र जासन होल्डर अविजित रहदै अन्तिम ५ बल बाँकी रहदा सम्म मैदानमा रहेका थिए ।
बोनर र होल्डर दुई घण्टा भन्दा बढी समय मैदानमा बिताएका थिए । तर, अन्तिम ओभरको पहिलो बलपछि मात्र रुट वेस्टइन्डिजका खेलाडीसँग हात मिलाउन गएका थिए ।
रुटले त्यो भन्दा धेरै अघि नै खेल बराबरी भएको स्विकार्नुपर्ने धारणा ब्रेथवेटको छ। ब्रेथवेटले भारत, न्यूजिल्यान्ड वा पाकिस्तानविरुद्ध खेल्दा सम्भतः रुटले सायदै यस्तो निर्णय लिने दाबी पनि गरे ।