बुधबारबाट फर्कँदै छ अन्तर्राष्ट्रिय क्रिकेट

कोरोना भाइरसको महामारीका कारण ४ महिनादेखि रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट बुधबारबाट पुनः सुरु हुँदै छ । बुधबार दिउँसो ३ः४५बजे साउथह्याम्पटनमा हुने इंग्ल्यान्ड र वेस्टइन्डिजविरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय क्रिकेट पुनः सुरु हुन लागेको हो ।

लामो समयपछि क्रिकेटमा फर्कँन पाउँदा दुवै टिमका खेलाडी उत्साहित छन्, सँगै क्रिकेट समर्थक पनि उत्साहित छन् । सुरक्षाका कारणले खेल बन्द रंगशालामा हुने छ ।

दुवै टिमको नेतृत्व अलराउन्डले गर्ने छन् । इंग्ल्यान्डको कप्तानी वेन स्टोक्सले गर्ने छन् भने वेस्टइन्डिजको नेतृत्व जेसन होल्डरले गर्ने छन् । स्टोक्सले पाहिलो पटक कप्तानी गर्न लागेका हुन् । नियमित कप्तान जो रुट घरायसी कारणले टिममा उपलब्ध हुन नसकेपछि कप्तानी जिम्मा स्टोक्सले पाएका हुन् ।

४ महिनापछि मैदान फर्कन पाउँदा खुसी लागेको बताउँदै दुवै टिमका कप्तानले जितका लागि मैदान उत्रिने बताएका छन् ।

यस्तै, वेस्टइन्डिजका प्रशिक्षक फिल सिमोन्सले खेलका लागि आफू आतुर रहेको बताएका छन् । सिमन्सले नयाँ अनुभवका साथ खेलमा फर्कन तयार रहेको बताएका छन् । ‘दुई अलराउण्डर आमन सामने हुँदै छन् । दुबैको भिडन्तको प्रतीक्षामा छौँ,’ सिमोन्सले भनेका छन्, ‘मलाई लाग्दैन यो सिरिज जित र हारको कारण मात्र लोकप्रिय हुनेछ, यसले कोरोनापछि जे सुकै पनि सम्भव छ भन्ने आभास गराउँछ ।’

स्टोक्सले पहिलो पटक टिमको नेतृत्व गर्न लागेको भएपनि उनको क्षमता कुनै शंका नभएको सिमोन्सले बताएका छन् । ‘स्टोक्स यस्ता खेलाडी हुन्, जोअघि बढेर नेतृत्व गर्छन् । क्रिकेटमा उनको प्रर्दशन यसको प्रमाण हो’, सिमोन्स भन्छन्, ‘तपार्इं फाइदाको अवस्थालाई कुन तरिकाले उपयोग गर्नुहुन्छ, यसका लागि सतर्क हुन आवश्यक छ । रुट टिममा छैनन्, तर,् केही युवा खेलाडी यसको फाइदा उठाउन चाहन्छन् ।’

अन्तर्राष्ट्रिय क्रिकेट पुनः फर्किएको इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले खुसी व्यक्त गरेको छ । केही घण्टामा क्रिकेट फर्किने बताउँदै उसले सम्पूर्ण क्रिकेट प्रेमी त्यसको प्रक्षिमा रहेको बताएको छ । बोर्डका एक सदस्यले भनेका छन्, ‘लामो पहल र प्रयासमा क्रिकेट सुरु भएको छ । हामीलाई थाहा छ, दुबै टोलीलाई केही कठीनाई हुनेछ, तर ती कठिनाई केवल सामान्य हुन्, महत्वपूर्ण के छ भने क्रिकेट फेरि फर्कियो ।’

दुई टिमबीच तीन खेलको टेष्ट सिरिज हुनेछ । अन्य दुई टेष्ट भने ओल्र्डट्राफोर्डमा हुनेछ । दोस्रो टेष्ट जुलाई १६ र तेस्रो खेल जुलाई २४ मा सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *