मोर्गन र मलान चम्किए, दोस्रो टि–२०मा इंग्ल्यान्डले पाकिस्तानलाई हरायो

कप्तान इओन मोर्गन र डेविड मलानले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टिम इंग्ल्यान्डले टि–२० सिरिजको दोस्रो खेलमा पाकिस्तानलाई ५ विकेटले हरायो । यो जितसँगै तीन खेलको सिरिजमा इंग्ल्यान्डले १–०को अग्रता लिएको छ। पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

म्यान्चेस्टरमा भएको खेलमा मोर्गन र मलानले अर्धशतकीय इनिङ खेलेपछि पाकिस्तानले दिएको १९६ रनको विशाल लक्ष्य इंग्ल्यान्डले ५ बल बाँकी छँदै ५ विकेटको क्षतिमा भेट्टायो । मोर्गनले ६६ रन बनाए भने मलानले ५४ रनको इनिङ खेले । ३३ बल खेलेका मोर्गनले ६ चौका र छक्का प्रहार गरे भने मलानले ३६ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे ।

इंग्ल्यान्डको जितमा दुई उत्कृष्ट साझेदारी बने । तेस्रो विकेटका लागि मोर्गन र मलानले ११२ रनको शतकीय साझेदारी गरेका थिए भने पहिलो विकेटका लागि जोनी बेइस्टो र टम बान्टोनले ६६ रनको साझेदारी गरेका थिए । बेइस्टोले २४ बलमा ४४ रन बनाउँदा बान्टोनले २० रन बनाए ।

पाकिस्तानका शादब खानले ३ तथा ह्यारिस रउफले २ विकेट लिए । शादब र रउफ दुवैले ४ ओभर बलिङ गर्दै समान ३४ रन खर्चिए ।

यसअघि टस जितेर इंग्ल्यान्डले फिल्डिङ रोजेपछि ब्याटिङमा आएका पाकिस्तानले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १९५ रन बनायो । यो इंग्ल्यानडविरुद्ध टि–२०मा पाकिस्तानको उच्च स्कोर हो । उसका लागि मोहम्मद हाफिज र कप्तान बाबर अजामले अर्धशतकीय इनिङ खेले ।

हाफिजले ३६ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६९ रन बनाए भने अजामले ४४ बलमा ७ चौकाको सहयोगमा ५६ रन बनाए । यो हाफिजको टि–२० करियको सर्वाधिक स्कोर हो । इंल्यान्डविरुद्धको उत्कृष्ट पारी सँगै हाफिज टि–२० अन्तर्राष्ट्रिय २ हजार रन बनाउने तेस्रो पाकिस्तानी खेलाडी बनेका छन् । यस्तै फखर जमानले ३६ रन बनाए । इंग्ल्यानडका अदिल रसिदले २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP