लगातार २१ ओभर मेडन गर्ने भारतीय पूर्वक्रिकेटर रहेनन्

टेस्ट क्रिकेटमा लगातार २१ ओभर मेडन बलिङ गर्ने भारतीय क्रिकेटका दिग्गज खेलाडी रमेशचन्द्र गंगाराम ‘बापू’ नाडकरणीको ८७ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विरामी रहेका नाडकरणीको शुक्रबार राति उपचारका क्रममा अस्पतालमा निधन भएको हो । पछिल्लो समय उनी मुम्बईस्थित पवईमा छोरी–ज्वाइँसँग बस्दै आएका थिए ।

नाडकरणी किफायति बलिङका लागि विश्वचर्चित छन् । उनले भारतका लागि ४१ टेस्टमा २९.०७ को औसतमा ८८ विकेट लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा उनको बलिङ इकोनोमी १.६७ प्रतिओभर मात्र छ । उनले १९१ फस्टक्लास क्रिकेट पनि खेलेका छन् । उनले ४१ टेस्टमा १ शतक र ७ अर्धशतक बनाउँदै एक हजार चार सय १४ रन बनाएका छन् ।

विशेषतः नाडकरणीलाई लागतार २१ ओभर मेडन बलिङका लागि सम्झने गरिन्छ । सन् १९६४ मा मद्रास (हाल चेन्नई)मा भएको इंग्ल्यान्डविरुद्धको टेस्टमा उनले लागतार २१.५ ओभर अर्थात १३१ बल डट फ्याँकेका थिए । सो टेस्टमा नाडकरणीले ३२ ओभरमा २७ ओभर मेडन गर्दै ५ रन मात्र दिएका थिए ।

नाडकरणी अन्तर्राष्ट्रिय क्रिकेटमा लागतार सर्वाधिक बल टड फ्याँक्ने दोस्रा खेलाडी हुन् । उनीभन्दा अघि दक्षिण अफ्रिकाका हग टायफिल्डले सन् १९५६÷५७ मा इंल्यानडविरुद्ध लगातार १३७ बल डट फ्याँकेका थिए ।

नाडकरणीले सन् १९६०÷६१ मा पाकिस्ताविरुद्ध भएको कानपुर टेस्टमा ३२ ओभरमा २४ ओभर मेडन गरेका थिए भने दिल्लीमा भएको टेस्टमा ३४ ओभरमा २४ ओभर मेडन गरेका थिए । सन् १९५९ मा अस्ट्रेलियाविरुद्ध ९१ रन खर्चेर ६ विकेट लिनु उनको उत्कृष्ट बलिङ स्पेल हो ।

नाडकरणी सन् १९८१ मा भारतीय क्रिकेट टिमको प्रशिक्षक पनि बनेका थिए । उनकै प्रशिक्षणमा अस्ट्रेलिया भ्रमणमा रहेका बेला कप्तान सुनिल गावस्करले मेलबर्न टेस्टबाट ‘वाकआउट’ गर्ने धम्की दिएपछि विवाद भएको थियो । उनी सन् १९८७ मा मुम्बई क्रिकेट एसोसिएशनको संयुक्त सचिव पनि बनेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.