पहिलो पटक विदेशी फ्रेन्चाइज लिग खेलिरहेका नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको टिम मोन्ट्रियल टाइगर्सले ग्लोबल टी–२० क्यानडाको उपाधि जितेको छ। दीपेन्द्र र मोन्ट्रियल दुवैको यो पहिलो उपाधि हो।
फाइलनमा दीपेन्द्रको टिम मोन्ट्रियलले स्पिनर सन्दीप लामिछानेको टिम सर्रे जार्गुसलाई ५ विकेटले हरायो। फाइलनअघि सन्दीप र दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरेपछि फाइलनमा भने दुवै प्रदर्शन सामान्य मात्र रह्यो। तीन ओभर बलिङ गर्दा सन्दीप विकेटबिहीन भए भने दीपेन्द्र १६ रन बनाएर रिटायर्ड हर्ट भए।
सर्रेले दिएको १३१ रनको लक्ष्य मोन्ट्रियलले ५ विकेटको क्षतिमा भेट्टायो। अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको अवस्थामा आन्द्र रसेलले दोस्रो र अन्तिम बलमा छक्का प्रहार गर्दै टिमलाई जित दिलाए।
उसका लािग शेर्फान रदरफोर्ड सर्वाधिक ३८ रन बनाए। उन २९ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यस्तै कप्तान क्रिस लिनले ३५ बलमा ३१ रन बनाउँदा आन्द्रे रसेलले ६ बलमा २० रनको योगदान दिए।
यस्तै, दीपेन्द्र १७ बलमा १ चौकासहित १६ रनमा रिटायर्ट हर्ट भए। २ ओभरमा जितका लागि २५ रन चाहिएपछि दीपेन्द्रको स्थानमा रसेल ब्याटिङका लागि आएका थिए।
सर्रेका लागि इफ्तिखार अहमदले ४ ओभरमा ८ रन मात्र खर्चेर २ लिए। यस्तै, स्पेन्सर जोन्सन र आयन खानले समान १ विकेट लिए।
सीएए सेन्टर ओन्टारियोमा टाइगर्सलेले टस जितर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको सर्रेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३० रन बनायो।
सर्रेका लागि ओपनर जतिन्दर सिंहले सर्वाधिक अर्धशतकीय योगदान दिए। उनले ५७ बलमा ३ चौका प्रहार गर्दै ५६ रन बनाए। यस्तै, आयन खानले १५ बलमा २ छक्का प्रहार गर्दै २६ रन बनाउँदा मोहम्मद ह्यारिसले २३ रन बनाए ।
मोन्ट्रियलका युवा लेगस्पिनर आयन खानले २ तथा कार्लोस ब्रेथवेट, अब्बास अफ्रिदी र आन्द्रे रसेलले समान १ विकेट लिएका लिए।
मोन्ट्रियललाई च्याम्पियन बनाउन ब्याटिङबाट महत्वपूर्ण योगदान दिएका रदरफोर्ड प्लेयरअफ दी सिरिज भए।