नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट शुक्रबार सन्न्यासको घोषणा गरे। उनले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताए।
पछिल्लो समय ‘आउट अफ फर्म’ रहेका ज्ञानेन्द्रले अहिले सन्न्यासका लागि उपयुक्त समय हो भन्ने यस्तो निर्णय लिएको बताए। जिम्बाबेमा भएको एकदिवसीय विश्वकप सातौं स्थानको प्ले अफको फाइनलमा आयरल्यान्डविरुद्ध ज्ञानेन्द्रले देशको लागि अन्तिम खेले।
‘पहिला जुन ढंगले सोच्थें, जति गर्न सक्ने क्षमता छ भन्ने ठान्थें, त्यसो गर्न नसकेपछि माइलस्टोनका लागि टिममा झुन्डिएर बस्नु उपयुक्त लागेन,’ उनले भने। उनले डेढ दशकमा आफूले सक्नेदेखि राष्ट्रिय टिमलाई दिएको बताए।
उनले कहिल्यै पनि माइलस्टोनका लागि उभिनुपर्छ भन्ने मान्यता नराखेको बताए । व्यक्तिगत रूपमा टिमलाई योगदान गर्न सक्छु कि सक्दिनँ महत्वपूर्ण भएको बताए ।
उनले भने, ‘मैले बारम्बार सोच्दै भन्दै आएको छु, ग्राउण्डमा गएर एउटा खेलाडीका रूपमा उभिन सक्दिनँ, आफ्नो सोच र क्षमता दिन सक्दिनँ भने बसिराख्न जरूरी छैन,’ उनले भने, ‘किनकि निश्चित समयमा छोड्नु नै पर्छ । म आज यही फिल गरें र, यो निर्णय लिएँ ।
१८ वर्ष राष्ट्रिय टिममा बिताएका उनले देशका लागि यतिलामो समय खेल्ने पाउनु ठूलो उपलब्धि भएको बताए। उनले भने, ‘एउटा खेलाडीका रूपमा सबभन्दा गर्वको क्षण भनेको राष्ट्रिय टिमको जर्सी लगाएर उभिनु हो । मैले त यति लामो समय खेल्न पाएँ, राष्ट्रिय टिमको नेतृत्व गर्न पाएँ, यो खुसी क्षण हो।’
आफूलाई लिजेन्टका रुपमा उभ्याएका ज्ञानेन्द्रले क्रिकेट खेल्न मात्र छाडेको बताउँदै क्रिकेटबाट नटाढिने बताए। ‘बरु मैले १८–२० वर्षमा जे पाएँ, त्यो समाजलाई रिटर्न गर्ने बेला हो । र, यसका लागि यो उपयुक्त समय हो भन्ने लाग्छ,’ उनले भने।