युएईमा मुम्बईका खराब प्रदर्शन, बैंग्लोरसँग ५४ रनले पराजित

युएईमा जारी इन्डिय प्रिमियर लिग (आइएिल)को १४औं संस्करणमा डिफन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले खराब प्रदर्शन गरेको छ। आइतबा राति भएको खेलमा मुम्बई रोयल च्यालेन्जर्स बैंग्लोरसँग ५४ रनले पराजित भयो।

युएईमा मुम्बईको यो लागतार तेस्रो हार हो । यसअघि मुम्बईमा चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्ससँग पनि पराजित भएको थियो।

पहिला ब्याटिङ गर्दै बैंग्लेरले दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बई १८.१ ओभरमा १११ रनमै अलआउट भयो। मुम्बईका ओपनर रोहित शर्माले २८ बलमा सर्वाधिक ४३ रनको बनाए भने क्विन्टन डि कक २४ रन बनाए । अन्य ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

मुम्बईलाई सस्तैमा समेट्ने क्रममा हर्षल पटेलले ह्याट्रिकसहित ४ विकेट लिए । ह्याट्रिक लिने क्रममा उनले १७औं ओभरको सुरुआती तीन बलमा हार्दिक पाण्ड्या, किरेन पोलार्ड र राहुल चहरलाई आउट गरेका थिए। यस्तै, युजभेन्द्र चहलले ३ विकेट लिए।

यसअघि दुबईमा टस हारेर पहिला ब्याटिङ गरेको बैंग्लोरले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाएको थियो। कप्तान विराट कोहलीले ४२ बलमा ३ चौका र ३ छक्का सहित ५१ रन बनाए भने ग्लेन म्याक्सवेलले ३७ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ५६ रन बनाए।

मुम्बईका जस्प्रित बुमराहले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट, एडम मिल्ने र राहुल चाहरले समान एक विकेट लिए।

जितपछि १० खेलबाट १२ अंक जोडेको बैंग्लोर तेस्रो स्थानमा छ भने पराजित मुम्बई ८ अंकसहित सातौ स्थानमा छ।

Facebook Comments Box