यसरी सुरू भयो मेरो क्रिकेट यात्राः पारस खड्का

⦿ पारस खड्का

क्रिकेट, क्रिकेट र क्रिकेट । यो उमेरसम्म मैले सिकेको, जानेको र केही गरेको यही हो । यो मेरो लागि खेल मात्रै पनि होइन, जीवनशैली नै हो ।

स्कूलमा क्रिकेट खेल्दा प्रिन्सिपल सरको झ्याल फुटाएकोदेखि नेपाललाई एकदिवसीय मान्यता दिलाउँदासम्म कति रमाइला, कति नरमाइला पल आए । कति उत्सवका क्षणहरु पनि छन् । कतिपय त मेलै नचाहँदा नचाहँदै पनि बिर्सिसकेँ । आफ्नो बारेमा मलाई जति थाहा छ, त्योभन्दा धेरै मेरो परिवार र नजिकका साथीभाइलाई थाहा हुन्छ ।

अहिले पनि मेरो जीवन क्रिकेट, घरपरिवार र साथीभाइकै त्रिकोणमा नै घुमिरहेको छ । त्योभन्दा बाहिर खासै हुन्न । अलिकति तलमाथि हुनासाथ परिवार-साथीभाइले झक्झक्याउनुहुन्छ, जसरी म क्रिकेट टिमका सहकर्मीहरुलाई झक्झक्याउँछु ।


क्रिकेटर बन्छु भनेर बाल्यकालमा सोचेको थिइनँ । खेल्न रहर भने लाग्थ्यो । म साउथ पोइन्ट बोर्डिङ हाइस्कूल बुद्धनगर, बानेश्वरमा पढेँ । पढाइमा राम्रो भएकाले सरहरुसँग राम्रो सम्बन्ध थियो । मलाई पनि पढेरै केही गर्छु भन्ने थियो ।

पानी पर्ने सिजनमा फुटबल खेलिन्थ्यो, बास्केटबल वर्षभर नै जस्तो खेलिन्थ्यो । क्रिकेट पनि खेलिरहेका हुन्थ्यौं । विश्वकप जस्ता ठूला प्रतियोगिता आउँदा फुटबल खेल्थ्यौँ, क्रिकेटको प्रतियोगिताहरु हुँदा क्रिकेट नै खेल्थ्यौँ, एनबीए हुँदा बास्केटबल । त्यसरी नै दिन बितिरहेका थिए ।

सानो बेलाको एउटा घटना मलाई अझै याद छ, एकपटक स्कूलमा हामी खेलिरहँदा पि्रन्सिपल सरले झ्यालबाट विस्तारै खेल भनेर कराउनुभएको थियो । त्यसको ठीक अर्को बलमा मैले हानेको सट पि्रन्सिपल सरको झ्यालमा नै लागेर सिसा फुट्यो । क्रिकेट नै खेल्न नपाइने डर थियो । आफैं गएर झ्यालको नाप लियौँ, सिसा पसलमा गएर सिसा ल्याएर फिट गरिदियौँ र भोलिपल्टबाट फेरि क्रिकेट सुरु भइ नै हाल्यो ।


क्रिकेट खेल्नेहरु प्राय ब्याटिङमै रमाउँछन् । बलिङ गर्न अघि सर्नेहरु कमै हुन्छन् । अहिले त टेलिभिजन र इन्टरनेटसँग बालबालिका धेरै नजिक छन् । त्यसैले रसिद खान या विराट कोहली बन्ने मन उस्तै होला ।

तर, हामीले खेलेको गल्ली क्रिकेटमा ब्याटिङ नै प्रमुख छनोट हुन्थ्यो । म भने बलिङ पनि गर्थें । क्रिकेट सुरु गर्दा म बलिङ अलराउण्डर थिएँ । ब्याटिङभन्दा बलिङ राम्रो थियो । कसले पहिले ब्याटिङ गर्ने भनेर छान्ने तरिका पनि रमाइलो थियो । ब्याटले छोपेर एक, दुई, तीन गर्दै धर्का तान्थ्यौं र रोज्दा जसलाई जुन नम्बर पर्छ, उसैले उही क्रममा ब्याटिङ गर्थ्याैं । धेरै रन बनाउनेले अर्को पटकमा पहिला ब्याटिङ गर्न पाउने नियम हुन्थ्यो । कहिले काहीँ ‘वान ड्रप वान हृयाण्ड क्याच आउट’ भनेर पनि खेल्थ्यौं । जे होस्, त्यो बेलाको हाम्रो क्रिकेट रमाइलो थियो ।

सानो हुँदा हामीसँग गतिलो ब्याट हुँदैन थियो । सोझो काठ खोजेर त्यसलाई माथिपट्टी समात्न मिल्ने मुंग्रोजस्तो बनाएर बनाएर त्यसले नै खेल्थ्यौं । फ्ल्याट काठ कतै पाइन्छ कि भनेर साथीहरु सबै मिलेर खोज्न जान्थ्यौं । टेनिस बल त जसोतसो किन्न सकिन्थ्यो ।

घरमा पनि म र भाइ खेलिरहेका हुन्थ्यौं । भाइ कस्तो भने, कहिलेकाहीँ मैले ब्याटिङ गर्दा आउट पार्न सकेन भने अर्को दिन उसले पहिला ब्याटिङ गथ्र्यो र बलिङ गर्ने बेला नखेल्ने भन्दै जान्थ्यो । म घरमा मुमालाई भाइले यस्तो गर्‍यो भनेर कुरा लगाएर पनि जसरी हुन्छ बलिङ गर्न लगाएर ब्याटिङ गर्थें ।


यू-१५ राष्ट्रिय टिममा परेरपछि मेरो क्रिकेटले एउटा बाटो समात्यो । यू-१५ राष्ट्रिय टिममा पर्दा पनि योजना बनाएर होइन, अकस्मात नै भएको थियो ।

त्यो बेला इन्टर स्कूल क्रिकेट प्रतियोगिता भएको थियो । हामी कमै प्रतियोगितामा सहभागी हुन्थ्यौं । घरतिर पनि शंखमुल, च्यासल मैदानमा त्यसरी नै खेल्ने गथ्र्यौं ।

बुद्धनगरमा हाम्रै घर वरिपरि पनि खेल्ने ठाउँ धेरै नै थिए । फाँट नै फाँट थिए । बानेश्वरको ठाउँमा त्यस्तो खुला जमिन थियो भन्दा अहिले धेरैलाई विश्वास नहुन पनि सक्छ । तर, त्यो बेला खेल्ने मैदानको अभाव थिएन । जता खेले पनि हुन्थ्यो । शनिबार साथीभाइ जम्मा भयो, १०/१५ रुपैयाँ उठाएर बल किन्यो र खेल्न हिँड्यो । ९० रुपैयाँ पर्ने काल्कोम मार्सल भन्ने बल राम्रो हुन्थ्यो ।

म कक्षा १० मा हुँदा इन्टर स्कूल प्रतियोगिता हुँदैछ भन्ने पत्रिकाबाट थाहा पाएँ । त्यसको कटिङ लिएर विद्यालय गएँ र खेलकुदको सरलाई देखाएँ । स्कूल सकिन लागेको बेला एउटा भए पनि राम्रो प्रतियोगिता खेलौं न भन्ने लागेको थियो । त्यो प्रतियोगिता केभी खत्री मेमोरियल कप हो । पत्रिकामा भएको नम्बरमा फोन गर्‍यौं । आयोजकले टिम पूरा भइसक्यो, अब दर्ता गर्न पाइँदैन भन्यो । हामीले एकदमै कर गरेपछि अन्तिममा दर्ता गर्‍यौं । कीर्तिपुर मैदानमा खेल हुने भएकाले पनि उत्साहित थियौं ।

मलाई याद छ, २००१ मा काठमाडौंमा आयोजित एसीसी यू-१९ इलाइट कपको फाइनलमा नेपालले मलेसियालाई जितेको बेला म पनि कीर्तिपुर मैदानमा दर्शक थिएँ ।

सबैभन्दा धेरै दर्शक बस्नेतिर बसेको थिएँ । कागजको रकेट बनाएर मैदानमा फाल्दा टक्क गड्थ्यो । ओहो ! यो मैदानमा कहिले खेल्ने होला भन्ने त्यतिबेला नै लागेको थियो ।

त्यसैले केभी खत्री मेमोरियल कप मेरो लागि ठूलो अवसर थियो । म स्कूलको क्रिकेट कप्तान थिएँ । हामीले त्यो प्रतियोगिता खेल्यौं र जित्यौं पनि । प्रतियोगिता सकिएपछि थाहा भयो, त्यो त क्षेत्रीय प्रतियोगिताको लागि काठमाडौंको खेलाडी छनोट प्रतियोगिता पनि रहेछ । हाम्रो स्कूलबाट दिपेन श्रेष्ठ, अनुप गजुरेल र म छानियौं । त्यहीँबाट नै नेपालको यू-१५ टिममा पुगेँ । त्यसपछि यू-१७, यू-१९ हुँदै राष्ट्रिय टिममा ।


तपाइँलाई सम्भवत थाहा नहोला, कुनैबेला म अष्ट्रेलिया जाने सुरमा थिएँ । यदि त्यो बेला मेरो भिसा लागेको भए, म अहिले यो ठाउँमा हुन्थिनँ ।

२००८ तिरको कुरा हो । नेपालमा क्रिकेटको अवस्था कुहिरोको काग जस्तै थियो । भविष्यलाई लिएर चिन्ता हुन थाल्यो । त्यसैले प्लस टू सकाएपछि अस्ट्रेलिया जाने सोच बनाएँ । अस्ट्रेलिया क्रिकेटमा कहलिएको देश भएकाले पनि आकर्षण थियो । पढ्छु र खेल्छु पनि भन्ने सोचेको थिएँ ।

२००८ मा जर्सीमा हामी डिभिजन फाइभ खेलिरहेका थियौं । म उपकप्तान थिएँ । बिनोद दास कप्तान हुनुहुन्थ्यो । रोय डायस प्रशिक्षक हुनुहुन्थ्यो । रोय सरले, केही वर्षमा तिमी राष्ट्रिय टिमको कप्तान हुनुपर्छ भन्दा पनि म ‘होइन सर, म त बाहिर जाने सोचमा छु’ भनिरहेको हुन्थेँ ।

भाग्य भन्ने कि दुर्भाग्य भन्ने मेरो अस्टे्रलियाको भिसा लागेन । त्यो बेला भिसा नलागेकोमा अहिले भने म खुसी छु ।

त्यसपछि क्रिकेटमै लागिरहेँ । २००९ मा कप्तान भएँ । त्यसको एक वर्षपछि भने क्रिकेट सिरियस भइरहेको छ जस्तो लाग्न थाल्यो र आफूले आफूलाई अघि बढाउन थालेँ । त्यो बेला पनि भविश्यको ग्यारेन्टी त थिएन तर, अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा आउन थालेको थियो ।


२००४ मा मलेसियाविरुद्ध थ्रीडे म्याचबाट मैले राष्ट्रिय टिममा डेब्यु गरेको हो । त्यसलाई आईसीसी इन्टरकन्टिनेन्टल कप भनिन्थ्यो ।

थ्रीडे फर्म्याट भर्खर आउँदा हाम्रो पहिलो खेल युएईसँग तय भएको थियो । त्यसमा खेलाडी छनोटका लागि भएको अभ्यास खेलमा मैले पनि खेल्न पाएको थिएँ । त्यो बेला पहिलो र दोस्रो दुवै इनिङमा म शून्यमै आउट भएँ । त्यसैले टिममा छानिन सकिनँ ।

मलेसियासँग खेलअघि भएको अभ्यासमा भने शतक बनाएँ र टिममा परेँ । राष्ट्रिय टिमबाट पहिलो अन्तर्राष्ट्रिय खेलमै राम्रो गरेँ । पहिलो इनिङमा १ सय २ बलमा ४४ रन बनाएको थिएँ । ६ ओभर बलिङ गर्दा १९ रन खर्चिएर एक विकेट पनि लिएको थिएँ । दोस्रो इनिङमा हामीले ३४ रनको लक्ष्य पाएका थियौं । त्यसमा मैले ब्याटिङ नै गर्न परेन हामी ९ विकेटले विजयी भयौं ।

त्यसपछि कहिल्यै पछाडि फर्किनु परेन ।

२०१० मा हामी डिभिजन फाइभमा नै थियौं । त्यो बेला डिभिजन थ्रीमा पुग्न पाए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो । डिभिजन फाइभ, फोर हुँदै हामी थ्रीमा पनि पुग्यौं ।

डिभिजन थ्रीमा पुगेपछि वानमा पुगियो भने त जीन्दगी आरामले कट्छ, अरु केही सोच्नु अरु चिन्ता हुँदैन भनियो । त्यसपछि पनि केही वर्षमा थ्री हुँदै, टू, वान र एकदिवसीय मान्यतासम्म आइपुग्दा गएको ८ वर्षमा धेरै नै प्रगति भएको छ ।

विश्वकप खेलेपछि नेपाली क्रिकेटमा कायापलट हुन्छ भन्ने पनि थिए । हामीले त्यो पनि खेल्यौं । २०१३ मा विश्वकपको लागि छानिएर २०१४ मा टी-२० विश्वकप खेल्यौं, जुन नेपाली क्रिकेटको अहिलेसम्मकै ठूलो उपलब्धी हो ।

नेपाली क्रिकेटले एउटा बाटो पहिले नै बनाएको भए पनि त्यो हामीलाई थाहा थिएन । २०११ मा पुबुदु दासानायके प्रशिक्षक भएर आउनुभएपछि परिवर्तन देखिन थालेको थियो । पुबुदु सरले नै हामीलाई बाटो देखाउनुभएको हो । त्यसअघि हामी क्रिकेट खेलिरहेका त थियौं तर, के खेलिरहेका छौं, किन खेलिरहेका छौं भन्ने कसैलाई पनि केही थाहा थिएन । जान्थ्यौं, खेल्थ्यौं, जे हुन्थ्यो हुन्थ्यो अनि फर्किन्थ्यौं ।

पुबुदु सर आएपछि योजना कसरी बनाउने, आफूले आफ्नो लागि कसरी तयारी गर्ने, कसरी खेल्ने, कति समय लगाउने भन्ने सबै कुरा बुझ्दै गयौं जस्तो लाग्छ । अहिले जस्तो छ त्योभन्दा धेरै राम्रो हुनुपर्ने हो भन्ने लाग्छ ।

केही खेलाडीले विभिन्न ब्राण्डको सहयोगमा राम्रो आम्दानी गरे पनि सबैको अवस्था त्यस्तो छैन । २०१४ मा विश्वकप खेलेर आएका कति खेलाडीको अवस्था अहिलेसम्म पनि नाजुक छ । भोलि के गर्ने हो भन्ने उनीहरुलाई थाहा छैन ।


कप्तान भनेर सबैले फरक सोचिरहेका हुन्छन् । मलाई के लाग्छ भने कप्तान तब मात्रै राम्रो हुन्छ, जब टिम राम्रो हुन्छ । त्यस अर्थमा म धेरै भाग्यमानी छु, मैले असाध्यै राम्रो टिम पाएको छु ।

हामी सबैको एउटै लक्ष्य, एउटै सोच छ । नेपाली क्रिकेटलाई कसरी अघि बढाउने भन्नेमा नै सबैको ध्यान छ । खेलाडीहरुसँग मलाई ०.००१ प्रतिशत पनि गुनासो छैन । हामी एक सोचले अघि बढ्दा मलाई मैदानमा धेरै सजिलो छ ।

मैदानबाहिर भने कप्तान भएपछि थुप्रै अप्ठ्याराहरु आए । कति कुराहरु सुधारका लागि आफैँ नै लाग्नुपर्ने हुन्छ । बोल्नुपर्ने हुन्छ । खेलाडीहरु बसेर सल्लाह गरेर केही गर्नुपर्ने हुन्छ । कति चित्त नबुझेका कुरामा हामी सबै मिलेर बोलेका पनि छौं ।

विकासका नाममा केही नहुँदा त हेरेर मात्रै बस्न अप्ठ्यारो हुन्छ । हामीसँग २००८ मा जे संरचना थिए, अहिलेसम्म पनि त्यही मात्रै छ । यसरी त कसरी अघि बढ्न सकिन्छ र ?

त्यो खाले व्यवस्थापन भएपछि हामीले आवाज नउठाए कसले उठाउने त भनेर परेको ठाउँमा बोलेका हौँ । कतिले त्यसलाई खेलाडीले राजनीति गरे भन्ने आरोप लगाए पनि हामी बोल्नुपर्ने कुरामा चुप लागेर बस्न भने सक्दैनौं ।

हामीले जहिले पनि क्रिकेटको राम्रो होस् भनेर आवाज उठाएका छौँ । मेरो पहिलो जिम्मेवारी मैदानमा राम्रो प्रदर्शन गर्ने नै हो । टिमलाई जिताउनका लागि प्रयास गर्ने नै हो । तर त्यसका लागि वातावरण राम्रो होस् भनेर पनि सोच्नै पर्छ ।

व्यवस्थापनमा सकारात्मक सोच र इमान्दार मान्छे हुने हो भने नेपालमा क्रिकेटको भविष्य निकै राम्रो छ ।

(अनलाइनखबरमा प्रकाशित लेखको अंश)

Facebook Comments Box