विश्वकप सुपर लिग जुलाई ३० बाट सुरु हुने, यस्तो छ संरचना

एकदिवसीय विश्वकप क्रिकेटको छनोटको रुपमा रहेको विश्वकप सुपर लिग जुलाई ३० बाट सुरु हुँदै छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले सोमबार १३ राष्ट्र सहभागी हुने सुपर लिग इंग्ल्याल्ड र आयरल्यान्डबीचको एकदिवसीय सिरिजसँगै सुरु हुने बताएको छ । आईसिसीले अन्य सरिजको तालिका भने पछि सर्वाजनिक गरिने बताएको छ।

सुपर लिग मे १४बाटै सुरु हुने तालिका थियो, तर कोरोनाक कारण त्यो सम्भव भएन । कोरोनाका कारण सुपर लिगका ६ सिरिज स्थागित भएका छन् । कोरोनाका कारण आयरल्यान्ड र बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका, आयरल्यान्ड र न्युजिल्यान्ड, श्रीलंका र भारत, नेदरल्यान्डस र पाकिस्तान तथा वेस्टइन्डिज र न्युजिल्यान्डबीचके सिरिज रद्द भएको छ । यी सिरिज पुनः गराउने या सबै टिमलाई अंक दिन भन्ने विषयमा पछि निर्णय गरिने बताइएको छ ।

सुपर लिग ऐतिहासिक लड्र्स मैदानबाट सुरु हुँदै छ । लड्र्समा जुलाई ३०मा हुने खेलमा विश्व च्याम्पियन इंग्ल्यान्ड र आयरल्यान्ड भिड्ने छन् । लड्स मैदानबाट सुपर लिगको सुरुवात गर्न पाउँदा आफूहरु उत्साहित रहेको इंग्ल्यान्डका कप्तान इयोन मोर्गनले बताएका छन् । यता, आयरल्यान्डका कप्तान एन्ड्रयु बालबिर्नीले सुपरलिगको सुरुवाती खेलमा इंग्ल्यान्डलाई कडा चुतौति दिने बताए ।

सुपर लिग एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता हो । आईसिसीले सुपर लिग यसै पटकबाट सुरु गरेको हो। आईसिसीले एकदिवसीय क्रिकेटको महत्व बढाउने उद्देश्यले सुरु गरिएको सुपर लिगमा १३ राष्ट्र सहभागी हुने छ । जसमध्ये शीर्ष ७ टिम र आयोजक भारतले सन् २०२३को विश्वकपमा स्थान बनाउने छन् ।

सुपर लिगमा टेस्ट राष्ट्रहरू भारत, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, श्रीलंका, बंगलादेश, वेस्टइन्डिज, अफगानिस्तान, आयरल्यान्ड, जिम्बाबे छन् । यस्तै, नेदरल्यानडले सन् २०१५–२०१७ को विश्व क्रिकेट लिग च्याम्पियनसिपको विजेता रुपमा सुपर लिगमा मौका पाएको हो।

सुपर लिगमा प्रत्येक टिमले ८ टिमसँग ८ सिरिज खेल्ने छन् । जसमा ४ होम र ४ अवे सिरिज हुने छ । प्रत्येक सिरिजमा तीन खेल हुने छ । प्रत्येक टिमले सुपर लिगका ४ टिमसँग भने सिरिज खेल्नु पर्ने छैन । सुपर लिगका शीर्ष ७ र अयोजक भारत सीधै विश्वकपमा छानिने छन् ।

सुपर लिगका पुछारका बाँकी ५ टिम र विश्वकप लिग–२ का ३ र प्लेअफबाट आएका २ गरी १० टिमबीच पुनः छनोट प्रतियोगिता हुने छ । यसबाट २ टिमले पुनः विश्वकपमा स्थान बनाउने छन् । यसरी सुपर लिगबाट छनोट भएका ८ र छनोटबाट आएका २ टिम गरी १० टिमले विश्वकप खेल्ने छन् ।

प्रत्येक टिमले जित वापत १० अंक प्राप्त गर्ने छन् भने खेल बराबरी, अनिर्णित वा रद्द भएमा प्रत्येक टिमले ५ अंक प्राप्त गर्ने छन् । सोही आठ सिरिज सकिएपछि प्राप्त अंकका आधारमा ¥याकिङ निर्धारण गरिने छ ।

कुन टिमले को–कोसँग खेल्दैनन् ?

  • अफगानिस्तानः इंग्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र वेस्टइन्डिज ।
  • अस्ट्रेलियाः बंगलादेश, आयरल्यान्ड, नेदरल्यान्ड्स र श्रीलंका ।
  • बंगलादेशः अस्ट्रेलिया, भारत, नेदरल्यान्ड्स र पाकिस्तान ।
  • इंग्ल्यान्डः अफगानिसतान, न्युजिल्यान्ड, वेस्टइन्डिज र जिम्बाबे ।
  • भारतः बंगलादेश, आयरल्यान्ड, नेदरल्यान्ड्स र पाकिस्तान ।
  • आयरल्यान्डः अस्ट्रेलिया, भारत, पाकिस्तान र श्रीलंका ।
  • नेदरल्यान्ड्सः अस्ट्रेलिया, बंगलादेश, भारत र श्रीलंका
  • न्युजिल्यान्डः अफगानिस्तान, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र जिम्बबे ।
  • पाकिस्तानः बंगलादेश, भारत, आयरल्यान्ड र श्रीलंका ।
  • दक्षिण अफ्रिकाः अफगानिस्तान, न्युजिल्यान्ड, वेस्टइन्डिज र जिम्बाबे ।
  • श्रीलंकाः अस्ट्रेलिया, आयरल्यान्ड, नेदरल्यान्ड्स र पाकिस्तान
  • वेस्टइन्डिजः अफगानिस्तान, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र जिम्बाबे ।
  • जिम्बाबेः इंग्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र वेस्टइन्डिज ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *