दोस्रो टि२० मा भारतद्वारा न्युजिल्यान्ड पराजित

न्युजिल्यान्डविरुद्धको तीन खेलको टि२० सिरिजको दोस्रो खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै भारतले सिरिज बराबरी गरेको छ । रोहित शर्माको अर्धशतक तथा रिसभ पन्तको नटआउट ४० रनको मद्दतमा भारत ७ बल बाँकि छँदै ७ विकेटले विजयी भयो ।

यो भारतको न्युजिल्यान्डमा पहिलो टि२० जित हो । जितमा महत्वपूर्ण योगदान गरेका कप्तान रोहित शर्मा अर्धशतकसँगै अन्तर्राष्ट्रिय टि२० मा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् । २२८२ रन बनाउँदै शर्माले २२७२ रन बनाएका न्युजिल्यान्डकै मार्टिन गुप्टिललाई पछि पारेका हुन् ।

शर्माले २९ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५० रन बनाएका थिए भने पन्तले २८ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गर्दै नटआउट ४० रन बनाए । यस्तै, भारतका लागि शिखर धवनले ३१ बलमा ३० रन तथा विजय शंकरले ८ बलमा १४ रन बनाए भने धोनी १७ बलमा २० रन बनाएर नटआउट रहे ।

न्यूजिल्यान्डका लागि लकि फेर्गुसन, इश सोधी र डेरिल मिचेलले समान १–१ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्यान्डले पिटर ह्यान्ड्सकम्बको अर्धशतकको मद्दतमा ८ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । ग्राण्डहोमले २८ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाएका थिए ।

यस्तै, रोस टेलरले ३६ बलमा ४२ रन बनाउने क्रममा ३ चौका प्रहार गरे भने केन विलियमसनले २० रन तथा ओपनरद्वय टिम सेफर्ट र कोलिन मुनरोले समान १२ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेखनिय प्रदर्शन गर्न सकेनन् ।

भारतका लागि क्रुनाल पाण्ड्याले ३ विकेट तथा खलील अहमदले २ विकेट लिए भने भुवनेश्वर कुमार र हार्दिक पाण्ड्याले समान १–१ विकेट लिएका थिए । ४ ओभरमा २८ रन दिएर ३ विकेट लिएका पाण्ड्या म्यान अफ द म्याच घोषित भएका थिए ।

तेस्रो तथा निर्णायक खेल आइतबार हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP