भारत र इंग्ल्यान्डबीचको डे–नाइट टेस्ट आजबाट

भारत र इंग्ल्यान्डबीच शृंखलामा निर्णायक साबित हुन सक्ने तेस्रो टेस्ट बुधबार सुरु हुँदै छ । खेल हुनेछ विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालामा । दुई तीव्र गतिका बलर भारतका इशान्त शर्मा र इंग्ल्यान्डका जिमी एन्डरसनको भनाइ मान्ने हो भने दुई टिमबीच पछिल्लो समय प्रतिद्वन्द्विता खुबै चर्को छ । यसपल्ट अवसर भिन्न खालको छ । चार टेस्टको शृंखला अहिले १–१ को बराबरीमा छ । दुवैलाई यो खेल जित्न आवश्यक छ ।

यो जितको उद्देश्य हुनेछ, विश्व टेस्ट च्याम्पियनसिपको फाइनल प्रवेश । जहाँ प्रतिद्वन्द्वी टिम रहनेछ न्युजिल्यान्ड । शृंखला जितेर फाइनल पुग्नका लागि भारतलाई यो टेस्ट जिते पुग्छ, तर इंग्ल्यान्डलाई भने ३–१ को जित्न आवश्यक छ । शृंखला बराबरीमा अस्ट्रेलियाको भाग्य खुल्नेछ । उसले नै फाइनल खेल्नेछ । दुवै टिमले सुरुआती एक–एक टेस्ट जितेको स्थितिमा दुई पक्षबीच तनाव पनि छ । एन्डरसन भन्छन्, ‘हामीलाई दुई टेस्ट जित्न आवश्यक छ, हाम्रा लागि फाइनलको समीकरण स्पष्ट छ ।’

इंग्ल्यान्डले जितेको २ सय १७ रनको पहिलो टेस्टमा एन्डरसनले भारतका प्रमुख ब्याट्सम्यानको विकेट लिएका थिए । त्यसको एक सातापछि नै चेन्नईमा इंग्ल्यान्ड ३ सय १७ रनले पराजित भयो । त्यसलाई टिमले सामना गरेको घोर निराशा मान्छन् एन्डरसन । अहिले इंग्ल्यान्ड त्यो चोटमय हार बिर्सेर नयाँ सुरुआत लिने पक्षमा छ । एन्डरसन थप्छन्, ‘हामी निकै रोमाञ्चित छौं, किनभने अहिले टेस्ट च्याम्पियनसिपको फाइनल छनोटको सम्भावनामा छौं ।’ यसका लागि इंग्ल्यान्डले भारतलाई उसकै भूमिमा हराउनुपर्नेछ, जुन धेरै टिमले गर्न सकेका छैनन् ।

यही खेलमा भारतका ३२ वर्षीय भेट्रान बलर शर्माले आफ्नो सय टेस्ट खेल्नेछन् । उनी भन्छन्, ‘मेरो मनमा खाली एउटै तथ्य मात्र छ । त्यो हो, शृंखलाका बाँकी दुई टेस्ट जित्ने । अनि यही उपलब्धिसँग विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्ने । अहिले म टेस्ट क्रिकेटमात्र खेलिरहेको छु, यस्तोमा मेरा लागि यो विश्वकपजस्तै हो । यदि हामी फाइनल पुग्छौं र त्यसमा विजयी हुन्छौं भने यो वान डे विश्वकप जितेजस्तै हो ।’

तीव्र गतिका बलर उमेश यादवलाई अहमदाबादमा हुने बाँकी दुई टेस्टका लागि टिममा राखिएको छ । उनी खुट्टाको चोटमुक्त हुँदै फिटनेस परीक्षणमा उत्तीर्ण भइसकेका छन् । सरदार पटेल स्टेडिमयको दर्शक क्षमता १ लाख १० हजार छ । त्यहाँ दर्शकको माहौल छुट्टै हुनेछ । फेब्रुअरीमा यही स्टेडियममा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमणका क्रममा र्‍याली गरेका थिए । यसै मैदानमा हुने पहिलो टेस्टका लागि खाली ५० हजार टिकटमात्र बिक्री हुनेछ ।

अझ यो टेस्ट दिवारात्रि छ, त्यसैले खेलका क्रममा पिन्क बल र फ्लडलाइट प्रयोग हुनेछ । रंगशालाको आकारले खेलाडीलाई पनि भयभीत बनाउन सक्नेछ । यस्तै मान्छन् भारतीय ब्याट्सम्यान रोहित शर्मा । ‘जतिजति बेला नयाँ रंगशालामा पहिलोपल्ट खेल्नुपर्ने हुन्छ, त्यो खेलाडीका लागि भने ठूलो चुनौती हुने गर्छ । नयाँ रंगशालासँग अभ्यस्त हुन नै समय लाग्ने गर्छ ।’ भारतका लागि पिन्क बल क्रिकेट धेरै सफल रहेको छैन ।

विराट कोहलीको भारत अस्ट्रेलियाविरुद्ध दिवारात्रि एडिलेड टेस्टमा ३६ रनमात्र बनाएर अलआउट भएको थियो । यो नै टेस्ट क्रिकेटमा भारतको अहिलेसम्मको सबैभन्दा कम स्कोर हो । सन् २०१९ मा बंगलादेशलाई कोलकाता दिवारात्रि टेस्टमा हराएको अनुभवमात्र भएको भारतले अहमदाबादमा लगभग त्यही टिम उतार्ने छ, जसले चेन्नईमा जित निकाल्दा खेलेको थियो । जो रुटको इंग्ल्यान्डले भने धेरै परिवर्तन देख्नेछ, टिमको ‘रोटेसन’ नीतिका कारण ।

दोस्रो टेस्टपछि मोइन अली घर फर्किसकेका छन् । भलै उनले त्यो टेस्टमा ८ विकेटमात्र लिएनन्, ब्याटबाट ४३ रन जोडे । अफ स्पिनर डम बेस भने टिममा फर्कने विश्वास गरिएको छ । यस्तै तीव्र गतिका बलर एन्डरसनले टिममा स्थान पाउने छन् नै । पूर्वइंग्लिस स्पिनर ग्रेम स्वान मान्छन्,‘अहिले टेस्ट शृंखला निकै प्रतिस्पर्धात्मक मोडमा छ । मलाई लाग्छ, इंग्ल्यान्डसामु यो टेस्ट जित्ने राम्रो अवसर छ । एन्डरसनकै कारण इंग्ल्यान्डले यो टेस्ट जित्ने सम्भावना बढी छ ।’

– कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *