श्रीलंकालाई ७८ रनले हराउँदै भारतले जित्यो टि–२० सिरिज

शुक्रबार पुनेमा भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ७८ रनले हराउँदै भारतले टि–२० सिरिज २–० ले जितेको छ । यी दुईबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेल भारतले ७ विकेटले जितेको थियो ।

शुक्रबार पुनेमा भएको खेलमा भारतले दिएको २०२ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका १५.५ ओभरमा १२३ रनमै अलआउट भयो । उसका लागि धनञ्जय डी सिल्भाले सर्वाधिक ५७ रन बनाए भने एन्जेलो म्याथुजले ३१ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

सिल्भाले ३६ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे भने म्याथुजले २० बलमा १ चौका र ३ छक्का प्रहार गरे । २६–४ को खराब अवस्थामा रहेको श्रीलंकालाई ५ औं विकेटका लागि ६८ रनको साझेदारी गर्दै इनिङ केही उकासेका थिए ।

श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा नवदीप सैनीले ३ विकेट लिए भने सार्दुल ठाकुर र वासिङटन सुन्दरले समान २ विकेट लिए । यस्तै, जस्प्रित बुमराहले १ विकेट लिए ।

यसअघि केएल राहुल र शिखर धवनले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुवात दिलाए । राहुलले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५४ रन बनाए भने धवनले ३६ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५२ रन बनाए ।

यस्तै मनिष पाण्डेले १८ बलमा ३१ रन बनाए भने विराट कोहलीले १७ बलमा २६ रन बनाउँदा सार्दुल ठाकुरले ८ बलमा २२ रन बनाए । श्रीलंकाका लक्सन सन्डकनले सर्वाधिक ३ विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.