पाकिस्तानी पूर्वक्रिकेटर इन्जमाम उल हकलाई हृदयघात

पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान इन्जमाम उल हकलाई हृदयघात भएको छ । ५१ वर्षीय इन्जमामलाई हृदयघातपछि लाहोरको अस्पतालमा भर्ना गरिएको छ। उनको एन्जियोप्लास्टी गरिएको छ।

तीन दिनदेखि उनले छातीमा दुखाइ महसुस गरे पनि सोमबार परीक्षण गर्दा हृदयघात भएको पुष्टि भएको थियो । परीक्षणलगत्तै सर्जरीका लागि लगिएको थियो । इन्जमामको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको बताइएको छ।

इन्जमाम सन् १९९२ को विश्वकप विजेता पाकिस्तानीका टिमका सदस्य हुन् । इन्जमाम पाकिस्तानका लागि एकदिवसीय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने खेलाडी हुन् । उनले ३७५ खेलमा ११७०१ रन बनाएका छन् । त्यस्तै ११९ टेस्ट म्याचबाट उनले ८८२९ रन बनाएका छन् । उनी पाकिस्तानका सबैभन्दा सफल कप्तान पनि मानिन्छन् ।

उनले सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । त्यसपछि उनी पाकिस्तान क्रिकेट टिममा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए । उनले पाकिस्तानी टिममा ‘ब्याटिङ कन्सलटेन्ट’ र ‘चिफ सेलेक्टर’ को भूमिका पनि निर्वाह गरेका थिए । उनी अफगानिस्तान क्रिकेट टिमको प्रमुख प्रशिक्षक पनि भएका थिए ।

Facebook Comments Box