आईपिएलमा सट्टेबाजी खेलाउने गिरोह पक्राउ

इन्डियन प्रिमियर लिग (आइपिएल)को सट्टेबाजी (जुवा) खेलाउने गिरोहलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । प्रहरीले आईपिएल सुरु भएयता विराटनगरबाट सट्टेबाजी खेलाउने तीन गिरोह पक्राउ गरेको छ ।

पछिल्लोपटक मोरङ प्रहरीले २ कात्तिक राति विराटनगर महानगरपालिका– १६ का ३७ वर्षीय पुरुषोत्तम साह, ३५ वर्षीय मन्जित साह र विराटनगर– १५ का २८ वर्षीय अपजर अलीलाई सट्टेबाजी खेलाउने गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । उनीहरूको साथबाट प्रहरीले २८ हजार पाँच सय नगद, जुवा खेलाउने डायरी, विभिन्न मोबाइल र मोटरसाइकल बरामद गरेको छ ।

१४ असोजमा पनि मोरङ प्रहरीले अर्को समूह विराटनगर महानगरपालिका– १५ का ३८ वर्षीय मुन्ना भन्ने सत्यजित साह, विराटनगर– १७ रानीका ४२ वर्षीय जगदीश र ३८ वर्षीय वैजनाथ साहलाई ‘सट्टेबाजी’ सञ्चालन गरिरहेको अवस्थामा विभिन्न मोबाइल, ल्यापटप र साठी हजार नगदसहित पक्राउ गरेको थियो ।

२३ असोजमा आइपिएल क्रिकेटमा लगाउने सट्टेबाजीका लागि डिपोजिट लिन बोलाएर विराटनगरका एक युवालाई अपहरण गरेर आठ लाख रकम असुलेको घटना पनि अनुसन्धान गरिरहेको एसपी सन्तोष खड्काले बताए ।

एसपी खड्काका अनुसार विराटनगर– ११ का २५ वर्षीय रोनल कँडेलले सट्टेबाजीको डिपोजिट दिने बहानामा साँझ अपहरण गरी एक दिन बन्धक बनाएर यातना दिई खाली चेकमा सही गराएर आठ लाख रुपैयाँ असुलेको आरोप विराटनगरका सञ्जय सिँगल नामका युवाले लगाएका छन् । उनले आफूलाई अपहरण गरेर बन्धक बनाई यातना दिएर आठ लाख रुपैयाँ असुलेको भन्दै रोनल कँडेल र उनका साथीहरूलाई कानुनी कारबाही गर्न माग गर्दै प्रहरीमा किटानी जाहेरी पनि दिएका छन् ।

अनुसन्धान बाँकी नै रहेको भन्दै मोरङ प्रहरीले कसैलाई पक्राउ गरेको छैन । घटना जानकारीमा आएपछि आरोपी कँडेललाई सामान्य सोधपुछका लागि बोलाएको भए पनि बिरामी भएर अस्पताल भर्ना भएको भन्दै प्रहरीले अनुसन्धान गुपचुप राखेको छ । तर, प्रहरीले भने घटना गुपचुप नभई प्रमाण जुटाउन गहिरो अनुसन्धान भइरहेको बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP