टालटुल गरेर नेपाली क्रिकेट यहाँसम्म आयो, तर अब पक्का बनाउनुपर्छः पारस खड्का

⦿ पारस खड्का

क्रिकेटले मलाई सबथोक दियो । आज जे छु, जहाँ छु, यसरी बोल्न सक्ने भएको छु, यो सबै क्रिकेटकै कारण हो । तर, मनमा खट्किने एउटा कुरा छ, भौतिक संरचना । बाहिर खेल्न जाँदा मैदान हेरेपछि लाग्छ हाम्रो देशमा यस्तो किन छैन ? मलेसिया, युएई सबैतिर गज्जब स्टेडियमहरु छन् । एउटै मात्र यत्तिको स्टेडियम भइदिने हो भने पनि कत्ति दर्शक आउँथे होला, कस्तो माहोल हुन्थ्यो होला भन्ने हुन्छ ।

हाम्रोमा एउटा गतिलो मैदान छैन भनेर दुःख लाग्छ । न त क्रिकेटको छ न त फुटबलकै ।

क्रिकेट खेल्दाको सबैभन्दा आनन्द लर्ड्स मैदानमै मिल्यो । लर्ड्समा क्रिकेट खेलिन्छ भनेर कहिल्यै सोचिएकै थिएन । २०१६ मा पहिलोपटक लर्ड्समा खेल्यौं । भोलिपल्ट उठेपछि पनि लाग्यो, साच्चै हामीले लर्ड्समा नै खेलेको हो त ?

लर्ड्समा खेल्ने हरेक क्रिकेटरको सपना हुन्छ, त्यसैले त्यहाँ खेलेपछि त्यो सबै कुराहरुले छोयो । त्यहाँको त्यो ड्रेसिङ रुम, त्यो माहोल अद्भुत नै थियो । पछि वर्ष फेरि पनि लर्डस्मा खेल्ने मौका पायौं तर, दुर्भाग्य त्यो दिन पानी पर्‍यो ।

जे होस् नेपाली क्रिकेट अगाडि बढ्दै जाँदा यस्ता खाले अवसरहरु आउँदै जान्छन् । लर्ड्सलाई ‘होम अफ क्रिकेट’ भनिने भएर पनि त्यहाँको महत्व छुट्टै भएको हो । तर, आज लर्ड्समा खेल्यो, भोलि सिड्नी क्रिकेट मैदानमा खेलौँला, पर्सि वाङ्खेडे रंगशालामा खेलौंला । हाम्रो सोच पनि त्यही हुनुपर्छ । एउटा क्रिकेटको देश बनेर जाने हो भने अगाडिको लागि सोच्नै पर्छ ।

हामीभन्दा पछाडि क्रिकेट खेल्न थालेको अफगानिस्तान अहिले टेस्टसम्म पुगिसकेको छ । त्यस्तै रफ्तार हाम्रो नभए पनि हामीले राम्रो नै गरेका हौं ।

तर, अहिले कस्तो लाग्छ भने हामी एउटा स्तरमा पुगेर अड्किएका छौं । त्यहाँबाट माथि जान केही त नयाँ सिक्नैपर्छ, केही नयाँ गर्नैपर्छ । हामी खेलाडी पनि र वातावरण पनि स्थिर भएको छ । यसरी त कि हामी यहीँ हुन्छौं, कि त तल झर्छौं । माथि जानको लागि त थप केही गर्नैपर्ने हुन्छ ।

म २२ वर्षको हुँदा जस्तो थिएँ, अहिलेका त्यही उमेरका खेलाडीहरु त्योभन्दा धेरै जान्ने छन् । जस्तो कि दिपेन्द्र ऐरी, अनिलकुमार साह, रोहितकुमार पौडेलहरुले राम्रो अवसर पाउने हो भने निकै राम्रो गर्न सक्छन् ।

हामी सिनियर खेलाडीले उनीहरुलाई सिकाउने कुराहरु पनि सकियो जस्तो लाग्छ । मैले रोहित पौडेल, दिपेन्द्र ऐरीलाई या भनौँ ज्ञानेन्द्र, शरदले सोमपाल कामी, ललित भण्डारीलाई दिने कुराहरु सबै दिइनै सक्यौँ । उनीहरुसँगै हामीलाई पनि अझै धेरै, अझै नयाँ प्रशिक्षणको आवश्यकता छ ।

ब्याटिङ, बलिङमा उनीहरुले आफूलाई अझै राम्रो पार्न नयाँनयाँ कुरा त सिक्नैपर्छ । उनीहरुको लागि राम्रो वातावरण दिनैपर्छ । सिनियर खेलाडीहरुलाई पनि माथिल्लो स्तरमा राम्रो गर्न विशेषज्ञको आवश्यकता छ नै ।


यत्तिका कुरा गरिरहँदा विश्वकप क्रिकेट त कसरी छुटाउनु ? सानो दुःखले विश्वकपसम्म पुगिएको थिएन । २०१२ मा जब हामी विश्वकप छनोटका लागि खेल्न जाँदा १४ औँ थियौं र सातौँ भएर फर्कियौं । त्यही पलमा लागेको थियो, ६ टिम त छानिन्छन्, यो पटक हामी हामी सातौँ भयौँ भनेपछि अर्को पटक ६ टिममा पर्न पक्कै सक्छौँ ! मेहनत गर्‍यौं भने छनोट हुन्छौँ भन्ने विश्वास त्यसबेलै थियो र छनोट पनि भयौँ ।

विश्वकप संसारको अगाडि आफूलाई आफ्नो क्रिकेटलाई, देशलाई प्रस्तुत गर्ने अवसर हो । संसारले हेरिरहेको छ, राम्रो गर्नुपर्छ भन्ने मनमा हुन्छ । संसारले हेर्ने भएपछि हामी खेलाडी आफ्नो देशको दूत जस्तै भयौं ।

पहिलो सहभागिता राम्रो भयो । हङकङलाई हराएका थियौं । हङकङले टस जितेर हामीलाई ब्याटिङमा बोलायो । पूरा ओभर खेलेर ८ विकेट जाँदा हामीले १४९ रन बनाएका थियौं । हङकङलाई १७ ओभरमा नै ६९ रन बनाउँदा अलआउट बनायौं । ज्ञानेन्द्रले ४८ र मैले ४१ रन बनाएको थिएँ ।

बंगलादेशविरुद्ध हामीले १ सय २६ रन बनाएका थियौं । ८ विकेटले हार्‍यौँ । त्यसमा पनि मैले ४१ रन बनाएको थिएँ । शरदले ४० हानेका थिए ।

अफगानिस्तानसँग २०१२ देखि जित नजिक पुग्ने तर, हार्ने भइरहेको थियो । २०१३ मा सिंगापुरमा यू-२३ इमर्जिङ नेशन कपमा ११ रन बाँकी थियो, ५ विकेट हुँदा पनि हामी ३ रनले हारेका थियौँ । त्यो बेला पुवुदु सरलाई भनेको थिएँ, हामी यस्तोमा पनि हारिरहेका छौं, अब हामीले अफगानिस्तानलाई यस्तो ठाउँमा हराउँछौँ जहाँ संसारले हेर्ने छ । नभन्दै टी-२० विश्वकपमा पूरा भयो ।

हामीले १४१ रन बनाउँदा अफगानिस्तानले १३२ रन मात्रै बनाउन सक्यो । त्यो जितले हामीलाई खुसी दियो । सारा नेपालीलाई खुसी दियो ।

हुन त विश्वकप खेलेकै सात वर्ष भइसक्यो । खेलाडीको रुपमा सम्झँदा लाज त नभनौं तर, पनि दुःख पनि लाग्छ । हामीले अरु विश्वकपमा पनि खेल्न सक्नुपर्ने हो जस्तो लाग्छ । तर, २०१६ को बेला छनोट हुन सकेनौँ । हाम्रो तयारी राम्रो भएर पनि सबैभन्दा नराम्रो प्रतियोगिता त्यही नै भएको थियो । तयारीले मात्रै पनि नहुने रहेछ जस्तो लाग्यो ।

अहिले अर्को विश्वकपमा छनोट हुन खेलिरहेका छौं । एकदिवसीय मान्यता पनि छ । अबको ८/१० वर्षमा नेपाललाई कसरी टेस्ट राष्ट्रसम्म पुर्‍याउने भनेर सोच्नुपर्छ । किनभने टेस्ट राष्ट्र भएपछि विश्व क्रिकेट लिग वा डिभिजन थ्री, टू के खेल्ने भनेर सोचिराख्नु परेन ।


हामी जति पनि खेलाडीहरु छौं टिभी हेरेर खेलेका खेलाडी हौं । हामीलाई बाहिरको पिचमा बानी नै छैन ।

कीर्तिपुरमा त राम्रोसुविधा छैन भने बाहिर के छ र ! अहिलेसम्म बलिङ मेसिनहरु छैन । हेर्दा नेपालको ब्याटिङ राम्रो छैन भन्ने सधैँ लागिरहन्छ । तर, यति कुराले यहाँसम्म आइपुग्नुमा खेलाडी र प्रशिक्षकलाई मान्नैपर्ने हुन्छ । गहिरिएर विचार गर्ने हो भने त हामी यहाँ पुग्नु ठूलो उपलब्धी हो ।

एउटा असम्भव काममा हामीले जसोतसो टालटुल गरेर यहाँसम्म ल्याएका छौं । तर, अब त टालटुलले हुँदैन । हामीले पक्का घर बनाउनै पर्छ । त्यो घर बनाउन आवश्यक स्रोत पनि तयार छ । कसले बनाउने र कसरी बनाउने भन्ने मात्रै हो ।

हामीले क्रिकेट पदाधिकारीसँग बसेर कुरा गरौँ न भनेर धेरै प्रयास पनि गर्‍यौँ । कति लिखित सुझावहरु पनि दियौँ । पुवुदु सरले त खेलाडीलाई यस्तो हुनुपर्छ, यस्तो गर्‍यौँ भने क्रिकेट अगाडि बढ्छ भनेर एउटा रोडम्याप नै दिनुभएको थियो । उहाँको योजनाअनुसार गर्न नसकिने कुरा पनि थिएन । तर, सरोकारवालाको सोच सकारात्मक थिएन ।

यो गर्नुभयो, उहाँले यो गर्नुभएन भनेर नाम लिएर भन्दा रिसइवी जस्तो हुन्छ । तर, भएको केही नै छैन । म क्रिकेट टिमको कप्तान छु भने राम्ररी टिम मिलाउने र खेल्ने त गर्नै पर्‍यो नि । मैले मेरो काम गरिनँ भने टिममा हुन्छु र ? संघमा पनि त्यस्तै हो नि, संघमा बस्ने तर काम नगर्ने पनि हुन्छ र ? हाम्रो प्रश्न नै त्यही थियो । काम किन भएन ?

हामीले त्यत्रो भेट्ने प्रयास गर्दा पनि उहाँहरु एक ठाउँमा कहिल्यै भेला हुनुभएन । अहिले आएर थाहा भयो, उहाँहरुको आफ्नै विवाद रहेछ । यसैले हामी सबै खेलाडीले नबोले कसले बोल्ने त जस्तो भएर नै बोलेका हौँ । भलै कतिले राजनीति गरे भन्छन् । तर, मलाई के लाग्छ भने प्रक्रिया सही गलत जे भए पनि त्यो सही उद्देश्यले थियो र सही थियो ।

तपाइँ आफैँ पनि हेर्नुहोस् न, पछिल्लो समय नेपालमा निजी रुपमा राम्रा प्रतियोगिता भइरहेका छन् । गर्ने हो भने हुँदोरहेछ भन्ने त देखियो ।

अब विगतलाई छाडौं, अहिले जसरी नयाँ शिराबाट अघि बढ्ने प्रयास भइरहेको छ । विश्वास छ, जो पनि व्यक्ति क्रिकेट संघमा आउनुहुन्छ काम त गर्नैपर्छ । जिम्मेवार भएर काम भएन भने बोल्ने मान्छे धेरै नै छन् । हजारौँ क्रिकेट समर्थकले नियालिरहेका हुन्छन् । खबरदारी उनीहरुले नै पनि गर्छन् ।

तर, जसरी टी-२० स्टाटसलाई सदुपयोग गर्न सकेनौं त्यसरी नै एकदिवसीय मान्यता पनि गुमाउने त होइन भन्ने डर छ । किनकी एकदिवसीय मान्यताको राम्रो मूल्याङ्कन भएको छैन । एकदिवसीय मान्यता भनेको के हो भनेर बुझ्नुपर्नेहरुले बुझ्नु नै भएको छैन जस्तो लाग्छ । हुन त यो विश्वकप पुग्नुभन्दा पनि ठूलो उपलब्धी हो । तर बुझ्ने कसले ?

कतिपय मानिसहरुले आईसीसीले बिगार्‍यो पनि भन्छन् । तर, उनीहरुले नेपालको क्रिकेट राम्रो होस् भनेर त चाहेका छन् जस्तो लाग्छ । तर, प्रक्रिया धेरै नै सुस्त भएको छ । त्यो गुनासो हामी सबैलाई छ । त्यो वातावरण पनि हामी आफैले दिएको वातावरण नै त हो । हाम्रो घर अरुलाई आएर चलाइदे भन्छौँ भने त यो भन्दा लाजमर्दो अरु के हुन्छ र ?

खेल हार्दा बसन्त तिमीले राम्रो बलिङ गरेनौ, शरद तिमीले राम्रो ब्याटिङ गरेनौ, दिपेन्द्र तिमीले क्याच छोड्यौ भनेर दोष दिन मिल्छ त ? हारको जिम्मेवारी होस् या जितको खुसी सबै खेलाडीको बराबर हुन्छ नि । संघमा पनि त्यस्तै हो ।

काम कोही एक जनाले बिगारेको भए पनि जिम्मेवारी सबैले लिएर सुधारतिर गएको भए यो अवस्था नहुन सक्थ्यो नि । नराम्रो हुँदा तैँले यस्तो गरिस्, तैँले यस्तो गरिनस् भन्ने अनि राम्रो हुँदा हामीले गर्दा क्रिकेट यहाँ पुग्यो भन्ने ? जबकि संघले क्रिकेटका लागि गरेको भनेको प्रशिक्षक आउँदा होटलको बिल तिरिदिने मात्रै हो । नेपाली क्रिकेट यहाँ पुग्नुमा उहाँहरुको कुनै योगदान छैन ।

(अनलाइनखबरमा प्रकाशित लेखको अंश)

Facebook Comments Box