आईपिएल : बैंग्लोरलाई हराउँदै मुम्बई प्लेअफ नजिक

रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हराउँदै डिफेडिङ च्याम्पियन मुम्बई इन्डियन्स युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल)को प्लेअफ नजिक पुगेको छ ।

१२ खेलमा ८ जित निकालेको मुम्बई १४ अंकका साथ शीर्ष स्थानमा छ । लिग चरणका बाँकी २ मध्ये १ खेल जिते मुम्बई प्लेअफमा पुग्ने छ । दुवै खेल पराजित भए पनि मुम्बईको प्लेअफ सम्भावना बाँकी नै रहने छ । समान १४ अंक जोडेका बैंग्लोर र दिल्ली क्यापिटल्स दोस्रो र तेस्रो स्थानमा छन् ।

अबुधाबीमा बुधबार राति भएको खेलमा बैंग्लोरले दिएको १६५ रनको लक्ष्य मुम्बईले १९.१ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । मुम्बईका लागि सूर्यकुमार यादवले अर्धशतकीय योगदान दिए । उनले ४३ बल खेल्दै १० चौका र ३ छक्काको मद्दतमा नटआउट ७९ रन बनाए ।

यस्तै, इशान किशानले २५, क्वेन्टन डी ककले १८ र हार्दिक पाण्ड्याले १७ रनको योगदान दिए । बैंग्लोरका युजभेन्द्र चाहल र मोहम्मद सिराजले समान २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । देवदूत पाडिक्कलले सर्वाधि ७४ रन बनाए । उनले ४५ बलमा १२ चौका र १ छक्का प्रहार गरे । यस्तै, जोश फिलिपले ३३ र एबी डे भिलियर्सले १५ रन बनाए । मुम्बईका जसप्रित बुमराहले ३ विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.