करणको बलमा क्रिस गेल बोल्ड, उनको पारसको टिमसँग पराजित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर करण केसीले विदेशी फ्रेन्चाइज लिगमा पहिलो विकेट लिएका छन् । युएईमा जारी टि–१० लिगमा पहिलो पटक आबद्ध करणले तेस्रो खेलमा पहिलो विकेट लिएका हुन् ।

पुने डेभिल्समा आबद्ध करणले आइतमा साँझ भएको टिम अबुधाबीविरुद्धको खेलमा विकेट लिएका हुन् । उनले विदेशी फ्रेन्चाइज लिगको पहिलो विकेटका रुपमा क्रिस गेलको विकेट लिए । करणले गेललाई ९ रनमा क्लिन बोल्ड गरेका थिए ।

करणले विकेट लिए पनि उनको टिम पुने डेभिल्स टिम अबुधाबीसँग ५ विकेटले पराजित भएको छ । पुनेले दिएको १३० रनको लक्ष्य आबुधाबीले ८.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि जेमी ओभर्टनले ३८ रन बनाउँदा जोइ कार्ल्कले २९ रनको योगदान दिए । यस्तै, पाउल स्ट्रर्लिङले २३ रन बनाए । पुनेका हार्डुस भिलजोइनले ३ विकेट लिए । यस्तै करणले १ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पुनेले १० ओभरमा ४ विकेट गुमाएर १२९ रन बनाएको थियो । पुनेका टम काडमोरले सर्वाधिक ६१ रन बनाए । उनले २५ बलमा समान ५ चौका र छक्का प्रहार गरे। यस्तै, चाडविक वाल्टनले २३ रन जोड्दा डेभोन थोमसले २१ रन बनाए । आबुधाबीका ओबेड म्याककोयले २ विकेट लिए ।

समूह बीमा समान ३ खेलका पुने र अबुधावीले मासन १ जित र २ हारको सामना गरेका छन् । टिम अबुधाबीमा अर्का नेपाली अलराउन्डर कुशल मल्ल पनि छन् । तर, उनले प्लेइङ सेटमा भने मौका पाएका छैनन् । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का टिम अबुधाबीका इमर्जिङ ट्यालेन्ट मेन्टरका रुपमा रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.