महेन्द्र नारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताकोको उपाधि कर्णाली प्रदेशले जितेको छ। रामजानकी क्रिकेट मैदानमा शुक्रबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५१ रनले हराउँदै कर्णालीले उपाधि जितेको हो।
यो कर्णाली प्रदेशको पहिलो राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि हो । ३ विभागीय टोली सहभागी नहुँदा फाइदा कर्णालीले उपाधि जित्ने अवसर पाएको हो।
कर्णालीले दिएको १४१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.१ ओभरमा ८९ रनमै अलआउट भयो । उसका लागि गजेन्द्र बोहराले ३३, दीपक बोहराले १७ र कप्तान नारायण जोशीले १५ रन बनाए ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा कर्णालीका लागि युनिश सिंहले सर्वाधिक ४ विकेट लिए भने अर्जुन चुनाराले २ विकेट लिए ।
पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो । कर्णालीका लागि ओपनर रविन्द्रजंग शाहीले २७ बलमा २१ रन बनाए । यस्तै दीपेन्द्र रावतले ५० बलमा ४९ रन बनाए भने हिमान्सु शाहीले २१ बलमा २५ रन बनाए ।
सुदूरपश्चिमका लागि नरेन साउद र कप्तान नारायण जोशीले समान २–२ विकेट लिए।