अन्तिम ओभरमा चम्किए कार्तिक त्यागी, पञ्जाबमाथि राजस्थानको २ रनको रोमाञ्चक जित

युवा फास्ट बलर कार्तिक त्यागीले इनिङको अन्तिम ओभरमा सनसनीपूर्ण बलिङ गरेपछि आईपिएलमा राजस्थान रोयल्स विजयी भएको छ। त्यागीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि रोमाञ्चक खेलमा राजस्थानले पञ्जाब किंग्समाथि २ रनको जित निकाल्यो।

१८६ रनको लक्ष्य पछ्याएको पञ्जाबलाई अन्तिम ओभरमा जितका लािग ४ रन मात्र चाहिएको थियो। र, उसँग ८ विकेट हातमा थियो। क्रिजमा सेट ब्याट्सम्यान निकोलस पुरन र एइडन मकरम थिए।

त्यागीको पहिलो बल मकरमाले डट खेले। दोस्रो बलमा उनले १ रन लिए । तेस्रो बलमा त्यागीले पुरनलाई विकेटकपिर सन्जु सामसनबाट क्याच आउट गराए । त्यागीको चौथो नयाँ ब्याट्सम्यान दीपक हुडाले डट खेले भने पाँँचौं बलमा हुडालाई पनि त्यागीले सामसनबाटै क्याच आउाट गराए। अन्तिम बलमा फाबियन एलनले पनि कुनै रन बनाउन सकेनन् र राजस्थानले २ रनको रोमाञ्चक जित निकाल्यो।

१८६ रनको लक्ष्य पछ्याउको पञ्जाबले उत्कृष्ट सुरुआत गरेको थियो। उसका लागि कप्तान केएल राहुल र मायंक अग्रवालले पहिलो विकेटका लागि ७२ बलमा १२० रनको साझेदारी गरेका थिए ।

अग्रवालले ४३ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ६७ रन बनाए भने राहुलले ३३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४९ रन बनाए । यस्तै, पुनले २२ बलमा ३२ रन बनाउँदा मकरमले २० बलमा २६ रन बनाए।

राजस्थानका त्यागीले ४ आभेरमा २९ रन खर्चेर २ विकेट लिए भने चेतक सकार्य र राहुल तेवातियाले समान १ विकेट लिए।

यसअघि राजस्थानले इनिङको अन्तिम बलमा अलआउट हुँदै १८५ रन बनायो । उसका लागि यजस्वी जैसवालले ३६ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ४९ रज बनाए भने महिमाल लोम्रोले १७ बलमा ४३ रनको योगदान दिए भने इभान लेविसले २१ बलमा ३७ रन बनाए । पञ्जाबका अर्षदीप सिंहले ५ विकेट लिए भने मोहम्द रामीले ३ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत बुधबार दिल्ली क्यापिटल्लले सनराइजर्स हैदरावादसँग खेल्नेछ।

Facebook Comments Box