डिपिएलको उद्घाटन खेलमा काठमाडौं गोल्डेन्सको विजयी

धनगढीस्थित फाप्ला मैदानमा आजबाट सुरु भएको तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)को उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्स विजयी भएको छ ।

उद्घाटन खेलमा काठमाडौं गोल्डेन्सले घरेलु टोली धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ गर्दै धनगढीले दिएको १३३ रनको लक्ष्य काठमाडौंले १ बल बाँकी छँदा ६ विकेट गुमाउँदै भेट्टायो ।

काठमाडौका लागि अंकित दवासले सर्वाधिक २९ रन बनाए भने गौरव तोमारले २८, अनिल साह २४ २४ रनको योगदान दिए । १३३ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौंलाई तोमार र अनिलले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गर्दै सुखद् सुरुवात दिलाए ।

यस्तै विक्रम भुसालले २४ तथा महबुब आलमले १२ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ३ रन मात्र बनाउन सके । सोनु तामाङ र योगेन्द्रसिंह कार्कीले समान दुई रन बनाए ।

धनगढीका रोहन मुस्तफाले २७ रन खर्चँदै सर्वाधिक ४ विकेट लिए भने विपिन कार्की र अमिर हायतले समान १ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको धनगढीले २० ओभरमा पाँच विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो । अमित श्रेष्ठले अर्धशतकीय इनिङ खेलेपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा धनगढीले ठूलो योगफल तयार गर्न सकेन् ।

तेस्रो नम्बरमा ब्याटिङ गरेका अमितले ५० बल खेल्दै ४ चौका र २ छक्काको सहयोगमा ५० रन बनाए । यस्तै सन्दीप रजाइली २८ र सौरभ खनालले २५ रनको योगदान दिए । काठमाडौंका नन्दन यादव २ विकेट लिए भने ललितनारायण राजवंशी र अंकित दवासले १–१ विकेट लिए ।

सर्वाधिक पुरस्कार राशिको तेस्रो संस्करणको रुस्लान डिपिएलको विजेताले ३० लाख रुपैयाँ पुरस्कार पाउने छ । यस्तै उपविजेताले १२ लाख, तेस्रोले ४ लाख र चौथो हुने टोलीले २ लाख रुपैयाँ पाउने छन् । प्रतियोगितालाई रुस्लानले मुख्य प्रायोजन गरेको छ भने नबिल बैंक, गोलस्टार जुत्ता, जगशक्ति स्टिल, नेपाल मेडिसिटी हस्पिटललगायतले सह प्रायोजन गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP