रायन ब्रुल र गुर्वाज चम्किँदा इपिएलमा काठमाडौंकाे सहज जित

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)मा माठमाडौंले किंग्स इलाभेनले विजयी सुरुआत गरेको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा विदेशी खेलाडीद्वय रायन ब्रुल र रहमतुल्लाह गुर्बाजले उत्कृष्ट ब्याटिङ गरेपछि काठमाडौंले डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्समाथि ७ विकेटको जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै ललितपुरले दिएको १५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । सुरुआतमै सुभास खकुरेल र अमित श्रेष्ठलाई गुमाएपछि रायन ब्रुल र गुर्बाजले उत्कृष्ट ब्याटिङ गरेपछि काठमाडौंले सहज जित निकाल्यो।

स्लो सुरुआत गरेका जिम्बाबेका खेलाडी ब्रुलले ३४ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै नटआउट ७३ रन बनाए भने अफगानी ओपनर गुर्बाजले ३६ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ५४ रन बनाए । यस्तै, राजु रिजालले १९ रन बनाए। ललितपुरका पवन सर्राफले १ विकेट लिए।

यसअघि टियु क्रिकेट मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि सर्राफले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै योगेन्द्र सिंह कार्कीले ३३ रन जोड्दा शंकर रानाले १४ रन बनाए भने भुटानी खेलाडी रनजुङ मिक्यो दोर्जीले अविजित १७ रन जोड्दा नारायण जोशीले १२ रन बनाए । ललितपुरले राम्रो सुरुआत गर्न सकेन । उसले ७ रन बनाउँदा सुरुआती ३ विकेट गुमाएको थियो। उसका कप्तान कुशल भुर्तेल शुन्य, सन्दुन विराकोडी २ र ओसादा फार्नान्डो ४ रनमा आउट भएका थिए।

काठमाडौंका जितेन्द्र मुखियाले ४ विकेट लिए । उनले ४ ओभरमा १८ रन खर्चिए । यस्तै, रायन ब्रुल र गुलशन झाले २–२ विकेट लिए।

Facebook Comments Box