मेयर्स कपमा दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी, विनोद र अरियो उत्कृष्ट

च्याम्पियन नेपाल पुलिस क्लबका अलराउन्ड दीपेन्द्रसिंह ऐरी काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । पुलिसलाई उपाधि दिलाउन बल र ब्याट दुवैबाट उत्कृष्ट प्रदर्शन गरेका उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेका हुन् ।

प्रतियोगितामा दीपेन्द्रले ५ खेलमा १ शतकसहित १७६ रन बनाएका थिए भने ८ विकेट पनि लिएका थिए । उनी सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा छन् । सर्वोत्कृष्ट खेलाडी बनेका दीपेन्द्रले ५० हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै, आर्मीका कप्तान विनोद भण्डारी उत्कृष्ट ब्याट्सम्यान घोषित भए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे । आर्मी फाइनल पुग्न असफल भएपनि विनोदले प्रतियोगिताभर उत्कृष्ट ब्याटिङ गरेका थिए । ४ खेलमा १ शतकसहित १८४ रन बनाएका उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी हुन्।

बागमती प्रदेशका अरियो पौडेल उत्कृष्ट बलर बनेका छन् । मेयर्स कपमा उत्कृष्ट बलिङ गरेका उनले कुल ४ खेलमा १३ विकेट लिए । उनी सर्वाधिक विकेट लिनेको सूचीमा दोस्रो नम्बरमा छन् । उनले पनि २५ हजार रुपैयाँ प्राप्त गरे।

शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइनलमा एपीएफमाथि ८ विकेटको जित निकाल्दै पुलिसले उपाधि जितेको थियो ।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघले आयोजना गरेको पहिलो संस्करणको मेयर्स कप जित्दै पुलिसले नगद ५ लाख रुपैयाँ हात पा¥यो । उपविजेता एपीएफले ३ लाख पायो । पुलिसले फाइनल जित्दै लिग चरणमा व्यहोरेको हारको बदला समेत लिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.