चौथो टि–२०मा वेस्टइन्डिजले दक्षिण अफ्रिकालाई हरायो, ५ खेलको सिरिज रोमाञ्चक मोडमा

दक्षिण अफ्रिकाविरुद्धको ५ खेलको टि–२० सिरिजको चौथो खेल वेस्टइन्डिजले २१ रनले जितृेको छ । वेस्टइन्डिजको यो जितसँगै सिरिज २–२को रोमाञ्चक अवस्थामा आइपुगेको छ। अब सिरिजको टुंगो अन्तिम खेलबाट लाग्ने छ।

बिहीबार राति सेन्ट जर्ज ग्रेनडामा भएको खेलमा पहिलो ब्याटिङ गर्दै वेस्टइन्डिजले दिएको १६८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो। उसका लागि क्वेन्टर डि ककले सर्वाधिक ६० रन बनाए । उनले ४३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।

यस्तै, एइडम अक्रमले २०, कागिसो रबाडा १६ र डेविड मिलरले १२ रन बनाए भने अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । वेस्टइन्डिजका ड्वायन ब्राभोले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले कप्तान केइरन पोलार्डको विस्फोटक ब्याटिङ मद्दतमा २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो । उसलका लागि विस्फोटक इनिङ खेलेका पोलार्डले २५ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५० रन बनाए ।

यस्तै, लिन्डेल सिमोन्सले ३४ बलमा ४७ रन बनाउँदा फाबियन एलेनले १९ र निकोलस पुरनले १६ रनको योगदान दिए । दक्षिण अफ्रिकाका जर्ज लिन्डे र ताम्ब्रिज साम्सीले समान २ विकेट लिए।

Facebook Comments Box