राहुल र कुलदीप चम्किँदा दास्रो वान डेमा भारत विजयी

केएल राहुल ब्याटिङमा र कुलदीप यादव बलिङमा चम्किएपछि भारतले भ्रमणकारी टिम अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा जित निकालेको छ । शुक्रबार राजकोटमा भएको खेलमा भारतले अस्ट्रेलियालाई ३६ रनले हरायो ।

योसँगै ३ खेलको सिरिज १–१ को बराबरीमा आएको छ । मुम्बईमा भएको पहिलो खेलमा भारत लज्जास्पद रुपमा अस्ट्रेलियासँग १० विकेटले पराजित भएको थियो । तेस्रो तथा निर्णायक वानडे आइतबार बैंग्लोरमा हुने छ ।

भारतलाई जित दिलाउने क्रममा केएल राहुलले पाचौं नम्बरमा विस्फोटक ब्याटिङ गर्दै ५६ बलमा ८० रन बनाए भने कुलदीप यादवले एउटै ओभरमा क्रिजमा जमिरहेका स्टेभन स्मिथ र कप्तान एलेक्स क्यारीलाई आउट गर्दै भारतलाई खेलमा फर्काएका थिए ।

भारतले दिएको ३४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४९.१ ओभरमा अलआउट हुँदै ३०४ रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका लागि स्मिथले सर्वाधिक ९८ रन बनाए । उनले १०२ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, मार्नस लाबुसेनले ४६, कप्तान आरोन फिन्चले ३३ र एस्टोन अगरले २५ रन बनाए । भारतका लागि मोहम्मद सामीले ३, नवदीप सैनी, कुलदीप यादव र रविन्द्र जडेजाले समान २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको भारतले ६ विकेट गुमाउँदै ३४० रन बनायो । भारतका लागि शिखर धवनले सर्वाधिक ९६ रन बनाए भने केएल राहुलले ८०, कप्तान विराट कोहलीले ७८ र रोहित शर्माले ४२ रन बनाए । अस्ट्रेलियाका एडम जम्पाले ३ विकेट लिए भने केन रिचर्डसनले २ विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.