एसिया कपअन्तर्गत भारत र पाकिस्तानविरुद्ध छक्का प्रहार गरेका दुई नेपाली क्रिकेटरले सम्मानस्वरूप जनही एक लाख पाएका छन् । इन्स्पायर नोबेल फाउन्डेसनले पूर्वघोषणाअनुरूप नै दुई खेलाडीलाई नगदसहित सम्मान गरेको छ।
यी दुई राष्ट्रविरुद्ध कुशल भुर्तेल र सोमपाल कामीले छक्का ठोकेका थिए भारतविरुद्ध खेल्नुअघि फाउन्डेसनले छक्का प्रहार गर्नेलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो । भारतविरुद्ध कुशल र सोमपालले समान दुई छक्का प्रहार गरेका थिए।
फाउन्डेसनका सुशील रेग्मीले खेलाडीद्वयलाई चेक हस्तान्तरण गरेका थिए। नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष अजय फुयाँलले खेलाडीलाई यस्तो किसिमको हौसलाले आगामी दिनमा राम्रो खेल्न प्रेरित गर्ने बताए । इन्स्पायर नोबेल फाउन्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीहरूले खोलेको संस्था हो।
पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूहरूलाई थप हौसला मिलेको बताउँदै फाउन्डेसनलाई धन्यवाद दिए । ‘यस पुरस्कारले अझै राम्रो गर्न हौसला दिन्छ । क्रिकेटलाई मात्रै नभएर यस्तो पुरस्कार अन्य खेलाडीलाई पनि दिनुपर्छ,’ सोमपालले भने ।