कुशल भुर्तेलले टि–२० वरियतामा स्टिभ स्मिथ र पोलार्डलाई उछिने

नेपाली युवा ब्याट्सम्यान कुशल भुर्तेलले आईसिसीको टि–२० ब्याटिङ वरियतामा अन्तर्राष्ट्रिय क्रिकेटका दिग्गज ब्याट्सम्यानलाई समेत पछि परेका छन्।

आईसिसीले बुधबार सर्वाजनिक गरेको नयाँ वरियतामा १ स्थान सुधार गर्दै ५९औं स्थानमा उक्लिएका कुशलले अस्ट्रेलियाका स्टिभ स्मिथ र वेस्टइन्डिजका कप्तान केइरन पोलार्डलाई समेत पछि पारेका छन्।

कुशलले ४४२ रेटिङ प्वाइन्ट पाएका छन् भने ६०औं स्थानमा रहेका पोलार्ड र बंगलादेशका सकिब अल हसनको समान ४४० रेटिङ प्वाइन्ट छ । यस्तै, स्मिथ ४०६ रेटिङ प्वाइन्टका साथ ७३ औं स्थानमा छन् ।

यस्तै, कुशलले वेस्टइन्डिजका लिन्डेल सिमोन्स, सिम्रोन हेटमेयर, भारतका ऋषव पन्त, अस्ट्रेलियाका म्याथु वेडलगायतलाई पनि पछि पारेका छन्।

टि–२० क्रिकेटको ब्याटिङ वरियतामा इंग्ल्यान्डका डेविड मलान शीर्ष स्थानमा यथावत छन् भने पाकिस्तानका बाबर अजम दोस्रो, अस्ट्रेलियाका आरोन फिन्च तेस्रो, न्युजिल्यान्डका डेभोन कन्वे चौथो र भारतका विराट कोहली पाँचौं स्थानमा छन्।

नेपालकै पारस खड्का ९२औं र कप्तान ज्ञानेन्द्र मल्ल ९६औं स्थानमा यथावत छन् । पारसको ३६२ र ज्ञानेन्द्रको ३५७ रेटिङ प्वाइन्ट छ।

Facebook Comments Box