
ललित राजवंशीको उपचारका लागि क्यानले डेढ लाख रुपैयाँ दिने
घाइते भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललितनारायण राजवंशीको उपचारका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आर्थिक सहयोग गर्ने भएको छ। बिहीबार भैरहवामा बसेको क्यनको बोर्ड बैठकले ललितको उपचारका लागि १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
प्रशिक्षणका क्रममा ललित घाइते भएका थिए । उनको एसिएल पुरै च्यातिएको र शल्यक्रिया गर्नुपर्ने भएको छ। उनी आठ महिना क्रिकेटबाट बाहिर रहनुपर्ने बताइएको छ।
यस्तै, क्यानको वार्षिक साधारण सभा आगामी २०७८, फाल्गुन १३ र १४ मा धनगढीमा गर्ने निर्णय गरेको छ ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन कुमार सिंह, सदस्य दुर्गाराज पाठक र सदस्य पदम बहादुर खड्का सम्मिलित ५ सदस्यीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय समेत गरेको छ ।
यसैगरी संघले आर्थिक समितिको संयोजकमा रोशन कुमार सिंह, छनोट समितिको संयोजकमा दीपेन्द्र चौधरी, प्राविधिक समितिको संयोजकमा वीरेन्द्र बहादुर चन्द, प्रतियोगिता समितिको संयोजकमा माधव कर्माचार्य, क्रिकेट समितिको संयोजकमा कैलाश बिस्ट लाई मनोनयन गर्ने निर्णय गरेको छ ।
यस्तै पोखरा, भैरहवा र धनगढी स्थित क्रिकेट मैदानमा २र२ जना, त्यसै गरी, जनकपुर र सप्तरी स्थित क्रिकेट मैदानमा १र१ जना मैदान कर्मचारी नियुक्त गर्ने निर्णय पनि गरेको छ ।