सन्यासको सोचमा महबुब

भेट्रान क्रिकेटर महबुब आलम आफ्नो खेलाडी जीवन टुंग्याउने सोचमा छन् । विगत चार वर्षदेखि राष्ट्रिय टिमबाट बाहिर रहेका महबुबले खेलाडी जीवनमा टुंग्याउने सोच बनाएका हुन्।

सन् २००० मा यूएईमा सम्पन्न एसीसी ट्रफीबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका महबुबले २०१७ मा कीर्तिपुर मैदानमा केन्याविरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलेयता नेपालको प्रतिनिधित्व गरेका छैनन् । ३९ वर्षे महबुब पछिल्लो सयम घरेलु क्रिकेटमै सीमित थिए । फ्रेन्चाइज क्रिकेटमा पनि उनी पछिल्लो समय खासै देखिएका थिएनन्।

नेपाली राष्ट्रिय टोलीबाट एकदिवसीय क्रिकेटमा १ सय विकेट लिने पहिलो बलर महबुबले ४ प्रथम श्रेणी र ७ ट्वान्टी–२० खेलेका छन् । महबुबले २००८ मा जर्सीमा मोजाम्बिकविरुद्धको विश्व क्रिकेट लिग डिभिजन ५ को खेलमा सबै १० विकेट लिएर विश्व कीर्तिमान बनाएका थिए ।

पुसमा प्रधानमन्त्री कप खेलेयता उनी घरेलु क्रिकेटमा पनि देखिएका छैनन् । खेलाडी जीवनबाट आफूले संन्यास लिन चाहेको भनी महबुबले प्रदेश २ क्रिकेट संघमा जानकारी गराएको प्रदेश २ का अध्यक्ष एवं नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशन सिंहले बताए ।

सन् २००८ मा मोजाम्बिकविरुद्ध एकै खेलमा महबुलले लिएका १० विकेट ।

महोत्तरीको बर्दिबासमा बुधबार बसेको प्रदेश २ को बैठकले महबुबको संन्यास कार्यक्रमलाई विशेष बनाउन क्यानसँग छलफल गर्ने निर्णय गरेको छ । छलफलपछि संन्यास लिने मिति तय गरिने जनाइएको छ ।

‘विश्व कीर्तिमानी बलर महबुब आलमले निकट भविष्यमा संन्यास लिने जानकारी गराएअनुसार उनको बिदाइमा कुनै कसरमा कमी हुन नदिन प्रदेश क्रिकेट संघले प्रभावकारी भूमिका निर्वाह गर्नेछ,’ प्रदेश २ क्रिकेट संघका सचिव एवं पूर्वखेलाडी आयुश श्रेष्ठले भने । तत्कालीन अवस्थाको क्षेत्र १ (पूर्वाञ्चल)ले वीरेन्द्र स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो चार संस्करण जित्दा महबुब टोलीका प्रमुख खेलाडी थिए ।

Facebook Comments Box