डिपिएल : रोमाञ्चक खेलमा रुपन्देहीलाई १ रनले पराजित गर्दै महेन्द्रनगर क्वालिफायरमा

निकै रोमाञ्चक खेलमा रुपन्देही च्यालेन्जर्सलाई १ रनले पराजित गर्दै शरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर युनाइटेड तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)को दोस्रो क्वालिफायरमा पुगेको छ । अब उसले फाइलन प्रवेशका लागि शुक्रबार काठमाडौं गोल्डेन्ससँग प्रतिस्पर्धा गर्ने छ ।

धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय मैदानमा बिहीबार भएको एलिमिनेटर खेलमा ११६ रनको लक्ष्य पछ्याएको रुपन्देहीलाई अन्तिम ओभरमा जितका लागि ५ रन चाहिएको थियो । क्रिजमा कप्तान वसन्त रेग्मी र प्रदीप ऐरी थिए भने बलिङका अभिनास बोहरा आए ।

अभिनासको पहिलो बलमा स्ट्राइकमा रहेका बसन्तले कुनै रन बनाउन सकेनन् । दोस्रो बलमा बसन्तले एक रन लिए भने तेस्रो बलमा ऐरीले रन लिन सकेनन् । अभिनासको चौथो बलमा २ रन लिने क्रममा ऐरी रनआउट भए । लगत्तै अर्को बलमा विक्रम सोब पनि रोहित पौडेलबाट क्याच आउट भए ।

अन्तिम बलमा रुपन्देहीलाई जितका लागि ३ रन चाहिएको थियो, तर अन्तिम बलमा २ रन लिने प्रयासमा बसन्त रेग्मी रन आउट भए र खेल महेन्द्रनगरले १ रनले जित्यो । अन्तिम ओभरमा अभिनासले ३ रन मात्र दिए ।

रुपन्देहीका लागि बाबर हायत र प्रदीप ऐरीले समान २८ रन बनाए भने विनोद भण्डारीले २३ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै सन्दीप सुनारले १४ र सुमित महर्जनले १० रन बनाए ।

महेन्द्रनगरका लागि अभिनास बोहराले २ विकेट लिए । उनले ४ ओभरमा १३ रन मात्र खर्चिए । यस्तै सिद्धान्त लोहनी, सागर ढकाल र महोम्मद नाभीदले समान १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको महेन्द्रनगरले कप्तान शरद भेषावकरको २९ रनको २० ओभरमा ९ विकेट मद्दतमा ११५ रन बनायो । सर्वाधिक रन बनाएका शरदले ३८ बलमा २ चौका प्रहार गरे । यस्तै, सुब्रमन्यम आनन्दले २०, अमरसिंह रौटेलाले १९, महोम्मद नाभीदले १८ बनाए भने अभिनास बोहरा र आरिफ सेखले समान ११ रन बनाए ।

रुपन्देहीका ललितसिंह भण्डारीले सर्वाधिक ४ विकेट लिए भने पुनित मेहराले ३ विकेट लिए । यस्तै बसन्त रेग्मीको नाममा २ विकेट रह्यो । ललितले ४ ओभमरा २८ रन खर्चिए भने मेहराले २६ रन खर्चिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP