तेस्रो एकदिवसीयमा वेस्टइन्डिजलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले जित्यो सिरिज

वेस्टइन्डिजविरुद्धको तीन खेलको एकदिवसीय सिरिज अस्ट्रेलियाले जितेको छ। सोमबार राति भएको तेस्रो तथा अन्तिम खेलमा वेस्टइन्डिजमाथि ६ विकेटको जित निकाल्दै अष्ट्रेलियाले सिरिज २–१ले जितेको हो। सिरिजको पहिलो खेलमा अष्ट्रेलिया १३३ रनले विजयी भएको थियो भने दोस्रो खेल वेस्टइन्डिजले ४ विकेटले जितेको थियो।

पहिला ब्याटिङ गर्दै वेस्टइन्डिजले दिएको १५३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ३०.३ ओभर खेल्दै ४ विकेट गुमाउँदै भेट्टायो । अष्ट्रेलियाका लागि म्याथ्यु वेडले अर्धशतक प्रहार गरे । उनले ५२ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा नटआउट ५१ रन बनाए ।

यस्तै कप्तान एलेक्स क्यारीले ३५ र मिचेल मार्सले २९ रन बनाए भने एस्टन एगरको ब्याटबाट १९ रन निस्कियो। वेस्टइन्डिजका सेलडन कोट्रेल, अकेल हुसैन, अल्जारी सोजेफ र हैडन वाल्सले समान १ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले ४५.१ ओभरमा अलआउट हुँदै १५२ रन मात्रै बनाउन सक्यो । ओपनर एभिन लेविसले अविजित रहँदै ५५ रन बनाए पनि अन्यले गतिलो योगदान दिन नसक्दा टिम सस्तैमा समेटियो।

वेस्टइन्डिजको इनिङ धरासायी बनाउने क्रममा अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए भने एस्टन एगर र जोस हेजलउडले २ विकेट लिए । स्टार्कले ९.१ ओभरमा ४३ रन खर्चिए भने एगरले १० ओभरमा १ मेडनसहित ३१ रन मात्र खर्चिए । हेजेलउडले ८ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर २ विकेट लिए ।

एस्टन एगर खेलको म्यान अफ दि म्याच घोषित भए भने मिचेल स्टार्स प्लेअर अफ दि सिरिज घोषित भए । स्टार्कले सरिजमा कुल ११ विकेट लिएका थिए।

Facebook Comments Box