मलेसियन टिमविरुद्ध सुदूरपश्चिमको सानदार जित

सुनसरी सदमुकाम इनरुवमा जारी मनमोहन स्मृति राष्ट्रिय एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले मलेसियन टिमविरुद्ध सानदार जित निकालेको छ । इनरुवा मैदानमा भएको खेलमा मलेसियन टोली सुदूरपश्चिम प्रदेशसँग ८ विकेटले पराजिवत भयो ।

टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले २२ ओभरमा ४९ रनमै समेटियो । प्रत्युत्तरमा सुदूरपश्चिमले ७.२ ओभरमा मात्रै दुई विकेट गुमाएर जित निश्चित गरेको हो ।

मलेसियाली टोली सुदूरपश्चिमको स्पिन बलिङसामु टिक्न सकेन । स्पिनरद्वय शेर मल्ल र विनोद लामाले समग्रमा मलेसियन टोलीको ९ विकेट लिए । विनोदले ५ र शेरले ४ विकेट लिँदा मलेसियन टोलीका लागि एकभन्दा बढी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मलेसियाका लागि विरन्दीप सिंहले २२ रन जोड्नबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । मलेसियाका सुरुवाती ब्याट्सम्यानद्वय सर्विन मुनियान्द्री (२) र भुसन रेभ (२) लाई आउट गराउँदै विनोदले सुदूरपश्चिमलाई उत्कृष्ट सुरुवात दिलाए । तेस्रो क्रममा क्रिजमा छिरेका मलेसियाली टोलीका कप्तान अहमेद फइज पनि १ रन जोड्दै शेरको बलिङमा आउट भए ।

त्यसपछि मलेसियाको राष्ट्रिय टोलीबाट खेलिसकेका विरन्दीपले केही सम्हालिएको ब्याटिङ गर्दै ब्याटिङ इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर, उनलाई अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् ।

१० ओभर बलिङ गरेका शेरले ३ मेडन निकाल्दै ११ रन खर्चिए । उनी खेलको उत्कृष्ट खेलाडीसमेत घोषित भए । ९ ओभर बलिङ गरेका विनोदले पनि ३ मेडनसहित २१ रन मात्रै दिए । अर्काे एक विकेट विक्रम ठगुन्नाको नाममा रह्यो ।

सदूरपश्चिमका लागि खड्क बोहोरा र लोकेश बमले अविजित समान १५ रनको योगदान गर्दै जित निश्चित बनाएका थिए । यी दुवै खेलाडीले आफ्नो इनिङ्समा समान ३ चौका प्रहार गरेका थिए । प्रारम्भिक ब्याट्सम्यान गजेन्द्र बोहोरा ११ र अरुण ऐरी ६ रनमा आउट भएका थिए ।

प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा हात पारेको जितसँगै सुदूरपश्चिमले समूह डीबाट सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । आइतबार हुने खेलमा गण्डकी प्रदेशलाई पराजित गरे सुदूरपश्चिम प्रतियोगिताको अन्तिम चारमा पुग्नेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.