एमएम कपको समूह चरणका खेल सकिए

सोमबार भए को मलेसिया सेलेक्सन ११ र गण्डकी प्रदेशबीचको खेलसँग मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको समूह चरणका खेल सकिएका छन् । चार समूहमा विभाजित लिग चरणबाट विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सुदूरपश्चिम र बागमती प्रदेश सेमिफाइलनमा पुगेका छन् ।

बुधबार हुने पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश तथा बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश भिड्ने छन् । बागमती समूह सीको विजेता हो भने त्रिभुवन आर्मी समूह एको विजेता हो । यस्तै, पुलिस समूह बी र सुदूरपश्चिम समूह डीको विजेताका रुपमा सेमिफाइलन पुगेका हुन् ।

इनरुवा रंगशालामा टस जिती पहिले ब्याटिङ रोजेको मलेसियन टोलीले ४७ ओभरमा सबै विकेट गुमाउनुअघि २९८ रनको योगफल तय गरेको थियो । जवाफी व्याटिङमा आएको गण्डकी प्रदेश २७.२ ओभरमा १०६ रनमै समेटिन पुग्यो ।

मलेसियन टोलीको जितमा व्याटिङतर्फ अइनुल हाक्विमले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे । प्रारम्भिक ब्याट्सम्यान उनले १११ बलमा ८९ रनको योगदान दिए । आफ्नो इनिङ्समा ११ चौका प्रहार गरेका उनी खेलको उत्कृष्ट खेलाडीसमेत घोषित भए ।

उनीबाहेक अर्का प्रारम्भिक ब्याट्सम्यान भुशन शेभ र भिरन्दीप सिंहले समान ५० रनको अर्धशतकीय योगदान दिए । अइनुलले पहिलो विकेटका लागि भुशनसँग मिलेर ७८ रनको साझेदारी गरे । यस्तै, दोस्रो विकेटका लागि कप्तान अहमेद फइज (३१)सँग मिलेर ७६ रनको साझेदारी गरे ।

बलिङतर्फ पनि मलेसियन खेलाडीको प्रदर्शन सशक्त रह्यो । गण्डकी प्रदेशलाई सस्तो योगफलमा समेट्न सुहरिल फेत्री एक्लैले चार विकेट लिए भने अन्वार रहमान र विजय उन्नीले समान तीन विकेट लिए ।

मलेसियन टोलीविरुद्ध गण्डकी प्रदेश बलिङ र व्याटिङ दुबैतर्फ कमजोर रह्यो । ब्याटिङतर्फ विपिन खत्रीले जोडेको ४२ रननै खेलमा गण्डकी प्रदेशका खेलाडीले जोडेको व्यक्तिगत सर्वाधिक स्कोर बन्यो । उनीपछि प्रविन ढकाल १९ रनमा अविजित रहे भने विधान श्रेष्ठले १० रन जोडे । बाँकी कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ पनि गण्डकीका खेलाडी महङ्गो सावित भए । बलिङतर्फ पनि विपिनले नै १० ओभर बलिङ गर्दै ३ विकेट लिए । तर, उनले पनि ५१ रन खर्चिए । अन्य कुनै पनि बलरले कसिलो बलिङ गर्न सकेनन् । गण्डकीले मलेसियन टोलीविरुद्ध आठ खेलाडीलाई बलिङ गर्न लगाएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.