एमएम कप : आयोजक इनरुवाविरुद्ध एपिएफ विजयी

सुमित महर्जनको अर्धशतक र सूर्य तामाङको चार विकेटमा सोमबार विभागीय टोली एपिएफले आयोजक मनमोहन स्मृति क्रिकेट क्लबलाई ८३ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

समूह एमा एपिएफले दुई खेलमा समान एक जित र हारको सामना गरी दुई अंक बटुल्यो । आयोजक टोली पहिलो खेलमै पराजित भयो । एपिएफका सुमित नै म्यान अफ द म्याच चुनिए ।

इनरुवा मैदानमा पहिलो ब्याटिङ गरेको एपिएफका ब्याट्सम्यानले पूरै ५० ओभर खेल्न सकेनन् । एपिएफ ४३.४ ओभरमा २०४ रनमा समेटिएको थियो । लक्ष्य पछ्याएको मनमोहन क्लबले ३६.२ ओभरमा सबै विकेट गुमाएर १२१ रन मात्र बनायो ।

मनमोहन स्मृति क्लबको ब्याटिङ धराशायी बनाउन सूर्य र कप्तान वसन्त रेग्मीले उत्कृष्ट बलिङ गरेका थिए । सूर्यले ८.२ ओभरमा २५ रन खर्चेर चार विकेट हात पारे । उनको बलिङ स्पेलमा दुई मेडन पनि समावेश रह्यो । यसैगरी, यज्ञमान कुमालले २८ रन खर्चिंदै दुई विकेट लिए । भेट्रान बलर वसन्तले आफ्नो फर्मलाई निरन्तरता दिँदै १० रन खर्चेर तीन विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको एपिएफको सुरुवात गतिलो भएन । इनिङ्सको तेस्रो बलमै एपिएफले प्रज्ज्वल साहीलाई गुमाएको थियो । धर्मराएको एपिएफको ब्याटिङ मध्यक्रमका ब्याट्सम्यानले सम्हाले । शंकर राना, प्रदीप ऐरी, सुमित, सन्दीप जोरा तथा कप्तान वसन्तले गतिलो साझेदारी गर्दा एपिएफ आयोजक क्लबलाई दुई सयभन्दा माथिको लक्ष्य दिन सफल भयो ।

सो इनिङ्समा अमर रोटेला र सुमितबीच सातौँ विकेटका लागि ४२ रनको साझेदारी भएको थियो । अमरले २३ बलमा नौ रन योगदान दिए । शंकरले प्रदीपसँग दोस्रो विकेटका लागि २५ रन जोडे । प्रदीपले तीन चौका र एक छक्का प्रहार गर्दै १९ रन बटुले ।

एपिएफको इनिङ्समा सुमितले धर्यपूर्वक ब्याटिङ गरे । उनले आफ्ना सहकर्मीसँग लगातार सात विकेटका लागि साझेदारी गरेका थिए । सुमित इनिङ्सको ४१.३ ओभरमा आउट हुँदा एपिएफ १९४–९ को स्थितिमा थियो ।

सुमित अफताब मन्सुरीको ओभरमा आउट भए । उनले १०७ बलमा सात चौकाको सहयोगमा ८३ रन बनाएका थिए । जोरा र कप्तान वसन्तले समान १२ रन योगदान दिए । मनमोहनका बलरले १७ अतिरिक्त रन दिएका थिए । आयोजकका सरोज बस्नेतले ३९ रन खर्चेर चार विकेट हात पारे ।

लक्ष्य पछ्याएको इनिङ्समा मनमोहन क्लबका कुनै ब्याट्सम्यानले गतिलो साझेदारी गर्न सकेनन् । एपिएफका बलरले अनुशासन निकै तोडेका थिए । उनीहरूले ३३ अतिरिक्त रन दिए । एपिएफका बलरले १८ वाइड र १६ बाई रन दिए । यसबाहेक रूपेश श्रीवास्तवले २३ तथा रभी रोयले २६ रन जोड्नु नै मनमोहनको ब्याटिङ इनिङ्सको महŒवपूर्ण पक्ष रह्यो ।

आठ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यीमध्ये दुई खाता खोल्नै असमर्थ रहे । श्रीवास्तवले ३२ बलमा तीन चौका र रोयले २४ बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.