कुशलको शतकीय इनिङमा आर्मीले एफिएफलाई हरायो

युवा अलराउन्डर कुशल मल्लले उत्कृष्ट ब्याटिङ गर्दै शतकीय इनिङ खेलेपछि सुनसरी सदरमुकाम इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय एकदिवसीय क्रिकेटमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आइतबार इनरुवा क्रिकेट मैदानमा भएको खेलमा आर्मीले एपिएफलाई १०८ रनको फराकिलो अन्तरले हरायो ।

इनरुवा क्रिकेट मैदानमा आर्मीले दिएको २८२ रनो लक्ष्य पछ्याएको एपिएफ ३९.३ ओभरमा १७३ रनमै अलआउट भयो । एपिएफका लागि पृथु बास्कोटाले सर्वाधिक ३६ रन बनाए भने शंकर रानाले ३२, सुमित महर्जन र सन्दीप जोराले समान २३ रन बनाउँदा प्रदीप ऐरीले २१ रन बनाए ।

एपिएफलाई सस्तैमा समेट्ने क्रममा आर्मीका साहब आलमले सर्वाधिक ४ विकेट लिए । उनले ९ ओभरमा १ मेडनसहित ३१ रन खर्चिए । यस्तै, कुशल मल्लले २ तथा विक्रम सोब, सुशन भारी र भीम सार्कीले समान १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको आर्मीले ४६ ओभरमा अलआउट हुँदै २८१ रन बनायो । उसलाई विशाल योगफल बनाउन कुशल मल्ले शतकीय योगदान दिए । उनले ६३ बलमा १३ चौका र ५ छक्का प्रहार गर्दै १११ रन बनाए ।

सुरुवात मै विकेट गुमाएपछि दबाबमा आएको आर्मीको इनिङ सम्हाल्ने क्रममा कुशलले ३१ बलमा अर्धशतक बनाएका थिए भने थप २२ बलमा शतक बनाए । उनले तेस्रो विकेटका लागि अनिल मण्डलसँग ८५ रनका साझेदारी गरे । अनिल ४१ रन बनाएर आउट भए ।

यस्तै, कुशलले चौथौ विकेटका लागि रोहितकुमार पौडेल ७२ रनको साझेदारी गर्दै आर्मीलाई बलियो अस्थामा पु¥याएका थिए । रोहितले २६ रन बनाए । यस्तै राजेश पुलामी मगरले ३८ रन र विक्रम सोबले १४ रन जोडे । एपिएफका कप्तान बसन्त रेग्मीले ४ विकेट लिए भने अमरसिंह रौटेलाले २ तथा अविनाश बोहरा, सूर्य तामाङ र प्रदीप ऐरीले समान १ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत सोमबार एपिएफ र आयोजक मदन भण्डारी स्मृति क्रिकेट क्लबबीच खेल हुने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.