भेट्रान मेबुब आलम चम्किएपछि प्रदेश २ विजयी

पूर्व राष्ट्रिय खेलाडी भेट्रान अलराउन्डर मेहबुब आलम चम्किएपछि मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश २ ले कर्णाली प्रदेशलाई आठ विकेटले हरायो । सुनसरी सदरमुकाम इनरुवामा जारी प्रतियोगितामा कर्णालीको यो लगातार दोस्रो हार हो । यसअघि बुधबार कर्णाली समूह बीमा पुलिससँग पराजित भएको थियो । यस समूहमा पुलिस र प्रदेश २ ले समान एक खेलबाट दुई अंक जोडेका छन् ।

कर्णालीले पहिलो ब्याटिङ गर्दै ३१.५ ओभरमा सबै विकेट गुमाएर केवल १२९ रन मात्र बनाएको थियो । कर्णालीलाई कम योगफलमा समेट्ने क्रममा प्रदेश २ का मेहबुब आलमले ११ रन खर्चेर तीन विकेट लिएका थिए । प्रत्युत्तरमा प्रदेश २ ले २२.५ ओभरमा दुई विकेटको क्षतिमा १३० रन जोड्यो । प्रदेश २ ले प्रतिओभर ५.६९ रनरेटमा ब्याटिङ ग¥यो ।

प्रदेश २ ले लक्ष्य पछ्याउँदा ओपनिङ राम्रो गर्न सकेन । सुधीर चौधरी (२) र हरिशंकर साह (५)को विकेट गुमाउँदा पुलिसले स्कोर बोर्डमा १२ रन मात्र जोडेको थियो । त्यसपछि हसिम अन्सारी र सुरज पटेलले तेस्रो विकेटका लागि ११८ रनको अविजित साझेदारी गरे । अन्सारीले ७३ बलमा ११ चौका र एक छक्का प्रहार गरी ८० रन बनाए । सुरजले ५० बलमा समान एक चौका र एक छक्कासहित ३३ रन योगदान दिए ।

नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य आलमले कर्णालीविरुद्ध घातक बलिङ गरे । उनले केवल ४.५ ओभर बलिङ गर्दा कर्णालीका मुख्य ब्याट्सम्यानलाई आउट पारे । आलमले आफ्नो बलिङ स्पेलमा २४ डटबल फ्याँकेका थिए । उनले दुई चौका बेहोरे । उनले प्रतिओभर २.२७ को रनरेटमा बलिङ गर्दै तीन विकेट लिए ।

जित निकाल्नुपर्ने दबाबसहित क्रिजमा उत्रेको कर्णालीको ब्याटिङ इनिङ्समा ओपनिङ मात्र जमेको थियो । ओपनर रवीन्द्र साह र विपिन रावलले पहिलो विकेटका लागि ७.४ ओभरमा ४१ रनको गतिलो सुरुवात दिलाएका थिए । तर, विपिन क्रिजबाट हटेपछि कर्णालीको पतन सुरु भयो । अर्का ओपनर रवीन्द्र इनिङ्सको १९.५ ओभरमा आउट भए ।

रवीन्द्रले ६८ बलमा ६ चौका र एक छक्काको सहयोगमा सर्वाधिक ४६ रन जोडे । यसैगरी, रावलले २० बलमा दुई चौका प्रहार गर्दै १० रन मात्र बनाए । सो इनिङ्समा दिवान पुनले ३३ बलमा २३ तथा प्रकाश जैसीले १५ रन योगदान दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP