क्रिकेटराष्ट्रिय क्रिकेट

होटलमै भेटेर मोहम्मद रिजवानले दिए नेपाली क्रिकेटरलाई शुभकामना

एसिया कप क्रिकेट भोलिबाट पाकिस्तान र श्रीलंकामा सुरु हुँदैछ। नेपालले पनि पहिलो पटक एसिया कप खेल्दैछ।

नेपालले घरेलु टोली पाकिस्तानसँग बुधबार मुल्तानमा खेल्दै प्रतियोगिताको सुरुआत गर्नैछ। अघिल्लो साता पाकिस्तान पुगेको नेपाली क्रिकेट टिम कराँचीमा केही दिन प्रशिक्षण गरेर मुल्तान पुगेको छ।

पाकिस्तानी टिम पनि सोमबार मात्रै नेपालसँग खेल्न मुल्तान गएको थियो। मुल्तान पुगेलगत्तै पाकिस्तानी टिम स्टार ब्याट्सम्यान मोहम्मद रिजवान नेपाली खेलाडी बसेको होटल पुगेका थिए। त्यहाँ पुगेर उनले नेपाली खेलाडी कुराकानी गरे, प्रतियोगिताका लागि शुभकामना पनि दिए।

रिजवानले नेपाली खेलाडीसँग कुराकानी गरेको भिडियो पाकिस्तान क्रिकेट बोर्डले आफ्नो फेसबुकमा पोस्ट गरेको छ। सो भिडियोमा रिजवानले नेपाली अलराउन्ड कुशल मल्लको काँधमा हात राखेर अर्का अलराउन्ड सोमपाल कामीसँग कुराकानी गरेका छन्।

‘तिमीहरुले (एसिया कपमा) डिजर्भ गर्छौं,’ नेपाली खेलाडीलाई हौसला दिँदै रिजवानले भनेका छन्, ‘केही कुराको जरुरत पर्‍यो भने हामीलाई भन्नू।’ उनले आफू नेपाल आएको र नेपालको क्रिकेटलाई पछ्याइरहेकोसमेत बताए।

उनले कुशल मल्ललाई जिस्काउँदै सोधेका छन्, ‘म्याचमा मेरो हेल्प चाहिन्छ?’ जवाफमा कुशलले नो भनेका छन्।

नेपाल र नेपाली क्रिकेटरलाई माया गर्ने पाकिस्तानी खेलाडी हुन् रिजवान । उनी केही समयअघि सन्दीप लामिछानेलाई भेट्न नेपालमै आएका थिए।

नेपाल र पाकिस्तानबीच बुधबार एसिया कपको उद्घाटन खेल मुल्तानमा हुँदैछ।