नेपाली क्रिकेट टिमको जर्सी खुला प्रतिस्पर्धाबाट डिजाइन गरिने, विजेतालाई १ लाख पुरस्कार

नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी खुला प्रतिस्पर्धाबाट डिजाइन गरिने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र नेपाली टिमको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला गरेका हुन्।

क्यान र एमएसटीले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको जनाएका छन् । जर्सीको डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडि र पछाडिको दुवै भागलाई ध्यानमा राखेर डिजाइन गर्नुपर्नेछ । जर्सी डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्नुपर्ने छ।

साथै राष्ट्रिय टोलीले पालना गर्नुपर्ने आईसीसीको नियम अनुसार नै जर्सीको डिजाइन गर्नुपर्ने क्यानले जनाएको छ । एड प्याडका प्रबन्ध निर्देशक सुरज गिरीका अनुसार उत्कृष्ट डिजाइन बनाउनेले पुरस्कार स्वरुप नगद एक लाख रुपैयाँ पाउनेछ ।

नेपालले जुलाईमा विश्वकप लिग टु अन्तर्गतको स्पेनमा आयोजना हुने आफ्नो दोस्रो श्रृङ्खलामा स्कटल्याण्ड र नामिबियाको सामना गर्नेछ । जर्सीको डिजाइन यही जुन १७ तारिखसम्म क्यानको अफिसियल इमेलमा पठाउनुपर्नेछ ।

क्यानले तीन सदस्यीय जर्सी छनोट समिति पनि बनाएको छ । जसमा क्यानको तर्फ़बाट २ र एडप्याडको तर्फ़बाट १ जना रहनेछन् ।

यसैबीच माई सेकेण्ड टिचरले यसै महिनाको सुरुवातमा आयोजना भएको नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक श्रृङ्खलाको उपाधि जित्ने नेपाली टोलीलाई नगद पाँच लाख रुपैयाँ दिने भएको छ । यस्तै, श्रृङ्खलाका क्रममा डेब्यु गर्ने कुशल भुर्तेल, आसिफ शेख, शाहब आलम र कमलसिंह ऐरीलाई जनही नगद एक लाख रुपैयाँ दिने माई सेकेन्ड टिचरले जनाएको छ।

Facebook Comments Box