त्रिकोणात्मक सिरिजका लागि प्रारम्भिक राष्ट्रिय टिमको घोषणा, सुवास र सुनिलको पुनरागमन

विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको क्रिकोणात्मक एकदिवसीय सिरिजका नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रारम्भिक घोषणा गरिएको छ । नेपालमै आयोजना हुने अमेरिका र ओमानविरुद्धको क्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार २४ सदस्यीय राष्ट्रिय टिमको प्रारम्भिक घोषणा गरेको हो ।

सिरिजको क्लोज क्याम्पका लागि क्यानले केही पुराना र धेरै युवा खेलाडीलाई समेट्दै शुक्रबार प्रारम्भिक टिमको घोषणा गरेको हो । ओपनिङ ब्याट्सम्यान सुवास खकुरेल र सुनिल धमलाले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । सुवासले २ वर्ष र सुनिलले ३ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् ।

सुवासले अन्तिम पटक सन् २०१८ अगस्त ३० मा युएईविरुद्ध खेलेको थिए भने सुनिलले सन् २०१७ मार्च १३ मा विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत केन्याविरुद्ध खेलेका थिए । त्यसयता दुवै खेलाडी राष्ट्रिय टिमबाट बाहिर रहँदै आएका थिए । यस्तै, सुमित महर्जन, लोकेश बम, कमलसिंह ऐरी, किशोर महतो पहिलोपटक राष्ट्रिय टिमको क्लोज क्यापमा परेका छन् ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको २४ सदस्यीय टिममा पारस खड्का, दीपेन्द्र सिंह ऐरी, करण केसी, सन्दिप लामिछाने, सोमपाल कामी, विनोद भण्डारी, शरद भेषावकर र अविनाश बोहोरा रहेका छन् । यसैगरी सुशन भारी, कुशल भुर्तेल, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललितनारायण राजवंशी, कमलसिंह ऐरी, रोहितकुमार पौडेल, सुवास खकुरेल, कुशल मल्ल, किशोर महतो, सुमित महर्जन, लोकेश बम, बसन्त रेग्मी, सुनिल धमला छन् ।

आईसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको क्रिकोणात्मक सिरिज माघ २२ देखि २९ गतेसम्म टियु मैदान कीर्तिपुरमा हुनेछ । प्रतियोगिता दोहोरो राउन्ड रोबिन लिगका आधारमा हुने छ । नेपालले माघ २२ गते ओमानसँग खेल्दै विश्वकप लिग–२ को सुरुवात गर्ने छ । यसतै, नेपालले २५ गते अमेरिका, २६ गते ओमान र २९ गते पुनः अमेरिकासँग खेल्ने छ ।

प्रतियोगिताकै तयारीका लागि नेपालले पोखरामा मलेसियासँग ३ खेलको एकदिवसीय सिरिज खेल्ने छ । तर, सिरिजको मिति भने तय भइसकेको छैन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.