कुवेतविरुद्ध नेपाल ३० रनले विजयी, कप्तान रुविनाको ह्याट्रिक

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले ह्याट्रिक गरेपछि आईसिसी महिला विश्वकपको एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गरेको छ ।

बुधबार थाइल्यान्डस्थित एसियान इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको खेलमा कप्तान रुविनाले इनिङको अन्तिम तीन बलमा विकेट लिँदै ह्याट्रिक गरेकी गरिन् । रुविनाको ह्याट्रिकमद्दतमा ११७ रनको लक्ष्य पछ्याएको कुवेतलाई ८६ रनमा अलआउट गर्दै नेपालले ३० रनको जित निकालेको हो ।

१९ औं ओभरको अन्तिम तीन बालमा रुविनाले कुवेतका अन्तिम तीन ब्याट्सम्यानलाई क्लिन बोल्ड गर्दै ह्याट्रिक पुरा गरिन् । उनले १९औं चौथो बलमा खाडिजा खालिललाई बोल्ड गरेकी थिइन् भने पाचौं बलमा मादीह जुवेरी र अन्तिम बलमा जिफा जिलानीलाई बोल्ड गरेकी थिइन् ।

अन्तिम खेलमा कुवेतलाई पराजित गरेपनि नेपाल महिला विश्वकपको ग्लोबल छनोटमा पुग्न भने सकेन । ६ खेलमा ५ जित निकालेको नेपाल अंक तालिकामा दोस्रो स्थानमा रह्यो ।

एसिया छनोटबाट थाइल्यान्ड ग्लोबल छनोटमा पुगेको छ । आजै भएको प्रतियोगिताको अन्तिम खेलमा युएईलाई पराजित गर्दै थाइल्यान्डले महिला विश्वकपको ग्लोबल छनोटमा आफ्नो स्थान पक्का गरेको हो । प्रतियोगितामा अपराजित रहेको थाल्यान्डले ६ खेलमा १२ अंक जोड्यो । थाइल्यान्डसँग पराजित युएई ८ अंकका साथ तेस्रो भयो ।

आज भएको खेलमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११६ रन बनायो । नेपालका लागि विन्दू रावलले सार्वधिक २८ रन बनाइन् । यस्तै, कप्तान रुविना क्षेत्रीले १३ बलमा २२ रन बनाइन भने नेरी थापाले १९ बलमा १९ तथा काजल श्रेठले १८ रनको योगदान दिइन् ।

कुवेतकी मार्यम ओमार र प्रियादा मुलरीले २–२ विकेट लिए भने अमना तारिक र मदीहा जुवेरीले १–१ विकेट लिए ।

११७ रनको लक्ष्य पछ्याएको कुवेतले इनिङको अन्तिम बलमा अलआउट हुँदै ८६ रनमात्र बनाउन सक्यो । उसका लागि मार्यम ओमारले सर्वाधिक २९ रन बनाइन् भने प्रियादा मुलरीले १४ तथा सब्रीन जाकी र मरिअम्मा हैदरले १२–१२ रन बनाए ।

कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि कप्तान रुविना क्षेत्री र कुरुना भण्डारीले समान ३ विकेट लिए । यस्तै नेरी थापा र कविता कुँवरले १–१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *