नेपालको सबैभन्दा ठूलो क्रिकेट लिग हुँदै

केही वर्षअघिसम्म घरेलु क्रिकेट लिग नभएर नेपाली क्रिकेट धेरै पछाडि परेको थियो । तर, अहिले नेपालमा क्रिकेट लिगहरु उल्लेखनीय संख्यामा हुँदै आएका छन् ।

मुख्यतः टि२० फर्म्याटमा हुने यस्ता लिगहरुले खेलाडीको आत्मविश्वास र समग्र खेलमा पारेको सकारात्मक असर हामी अनुभव गर्न सक्छौं । ३–४ वर्षअघि आइसिसीको तल्लो डिभिजनमा संघर्षरत नेपालले अहिले ओडिआइ मान्यता पाइसकेको छ । यसको श्रेय खेलाडीको मेहनतलाई बढी गएपनि फ्रेन्चाइज लिगले गरेको योगदानलाई नजर अन्दाज गर्न मिल्दैन ।

युवा तथा नयाँ खेलाडीलाई थप एक्स्पोजर र अवसर प्रदान गर्ने उद्देश्यका साथ नेपालमा अर्को फ्रेन्चाइज लिग पनि सुरु हुने भएको छ । टि २० र टि १० दुई फर्म्याटमा खेलाइने सो लिगको नाम ‘नेपाल क्रिकेट लिग’ (एनसिएल) राखिएको छ । राइनो स्पोर्ट्सले आयोजना गर्न लागेको एनसिएलको व्यवस्थापनको जिम्मा जय मिडिया म्यानेजमेन्टलाई दिइएको छ ।

एभरेस्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिग नेपालका चर्चित फ्रन्चाइज लिग हुन् । पछिल्ला ४–५ वर्षयता यी लिगहरुले नेपाली क्रिकेटलाई नयाँनयाँ उत्कृष्ट खेलाडी दिइरहेका मात्र छैनन्, पुराना खेलाडीलाई पनि निरन्तर अभ्यासको मौका दिइरहेका छन् । जसको प्रत्यक्ष फाइदा नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देख्न सकिन्छ ।

तर, एनसिएल भने टि२० लिगमात्र नभएर बहुआयामिक र क्रिकेट विकासको महत्वकांक्षी योजना पनि रहेको आयोजकको दाबी छ । अहिले एनसीएल आयोजक लिग सञ्चालनको प्रारम्भिक तयारी सकाएर लिगको नाम अनुमोदन गराउन व्यस्त छन् ।

राउन्ड रोबिन फर्म्याटमा खेलाइने एनसिएलमा नेपालका ६ सहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहने राइनो स्पोर्ट्सका संस्थापक तथा सिइओ सुशील पाण्डेले जानकारी दिए । काठमाडौं, पोखरा, चितवन, विराटनगर, धनगढी र गोरखाको टिमले एनसिएलमा टि२० र टि१० दुवै फर्म्याटमा प्रतिस्पर्धा गर्ने पाण्डेले बताए ।

‘राष्ट्रियस्तरका खेलाडीलाई अभ्यासको मौका र स्थानीय खेलाडीलाई प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय टिममा पर्ने अवसरका रुपमा एनसिएलको अवधारणा आएको हो । हामीले प्रारम्भिक तयारी सकिसकेका छौं । हाम्रो मुख्य लक्ष्य भनेको नेपाली क्रिकेटको समग्र विकास हो’, पाण्डेले सबैखेल डटकम सँग भने ।

नेपालमा अहिलेसम्म दुई फर्म्याटमा क्रिकेट प्रतियोगिता भएको छैन । एनसिएलले योजनाअनुरुप प्रतियोगिता सञ्चालन गरेमा यो नेपालको सबैभन्दा ठूलो क्रिकेट लिग हुने छ ।

‘यो प्रतियोगिताको संरचना सहज छैन । तर, राइनो स्पोर्ट्ससँगै जय म्यानेजमेन्टको टिम पनि धेरै मेहनत गरिरहेको छ । हामी जसरी पनि एनसिएलको सफल आयोजना गर्नेमा प्रतिबद्ध छौं । हाम्रा खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाललाई जित दिलाउन कति मेहनत गर्छन हामीलाई थाहै छ । त्यसैले उनीहरुलाई निरन्तर अभ्यासको अवसर प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।’ जय मिडिया म्यानेजमेन्टका संस्थापक तथा प्रबन्ध निर्देशक जयराज रोयले भने,  ‘नेपाली क्रिकेटको स्तर र नेपाली खेलाडीको प्रदर्शनको गुणस्तर बढाउन एनसिएलले महत्वपुर्ण योगदान गर्नेमा हामी विश्वस्त छौं ।’

लिगमा सहभागी टिमको नाम, प्रतियोगिताको मिति, अक्सनको मिति र खेलाडी दर्ता प्रक्रियाका बारेमा छिट्टै जानकारी दिइने आयोजकले बताएका छन् । एनसिएल अन्य लिगभन्दा फरक रहेको र यसले नेपाली क्रिकेटमा नयाँ आयाम थप्ने आयोजकको विश्वास छ ।

 टि१० लिगमा भने टि २० लिगका ६ टिमसहित थप २ टिमले पनि प्रतिस्पर्धा गर्नेछन् । बाँकी दुई टिमका बारेमा पनि छिट्टै जानकारी दिइने आयोजकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP