
युएईलाई हराउँदै नेपालले खेल्ला त विश्वकप ?
नेपालले आज टी–२० विश्वकप छनोटका लागि यूएईको सामना गर्दा नेपाली क्रिकेट झन्डै दशकयताकै महत्त्वपूर्ण खेल खेलिरहेको हुनेछ । नेपालका लागि सन् २०१३ मा हङकङविरुद्ध या २०१८ मा पपुवा न्युगिनीविरुद्धको खेल जत्तिकै महत्त्वको हुनेछ, ओमानको मस्कटमा हुने यूएईविरुद्धको यो खेल । यसमा नेपाली क्रिकेटको विश्वकप भविष्य जोडिएको छ ।
आज यूएईमाथि जित हात पारेमा नेपाल दोस्रो पटक टी–२० विश्वकपमा पुनः पुग्नेछ । नेपाली क्रिकेट शुभचिन्तक मंगलबारको जितको व्यग्र प्रतीक्षामा छन् । नेपालले जित निकालेको खण्डमा त्यो घरेलु दर्शकका लागि दशकपछिको ठूलो खुसी फर्किएको दिन हुनेछ ।
क्यानडामाथि सोमबार सहज जित हात पारेपछि नेपालले सेमिफाइनल यात्रा तय गरेको हो । पहिलो दुई खेल जितेर सेमिफाइनल आधार बनाए पनि नेपालको अन्तिम चारको यात्रा निश्चित हुन सकेको थिएन । क्यानडालाई नेपालविरुद्ध जुन डर थियो, त्यसले उसलाई छोप्यो ।
नेपालले ८ विकेटको सहज जित निकाल्यो । क्यानडालाई १५ ओभरमा ८० रनमै अलआउट गरेपछि नेपालले पनि १५ ओभरभित्रै लक्ष्य पूरा गरेको थियो ।
कमलसिंह ऐरीले सुरुआतमै दुई विकेट लिनुका साथै एक रनआउट गरेर नेपाललाई सानदार सुरुआत दिलाए । त्यसमा प्लेयर अफ द म्याच कप्तान सन्दीप लामिछानेले ३ विकेट थपे । टी–२० अन्तर्राष्ट्रियको ३२ खेलमा ५८ विकेट लिइसके पनि सन्दीप पहिलोपल्ट यस संरचनामा प्लेयर अफ द म्याच चुनिएका छन् । यसै प्रतियोगिताका ३ खेलमा उनले ८ विकेट लिइसकेका छन् ।
यूएईसँगको खेललाई लिएर आफूहरू मानसिक रूपमा तयार हुनुका साथै विजयको भोक रहेको कप्तान सन्दीप बताउँछन् । ‘यूएईसँगको खेल हाम्रा लागि निकै ठूलो हुनेछ, त्यसैले हामी यसमा शतप्रतिशत खेल्नेछौं,’ सन्दीपले आईसीसीसँग भनेका छन्, ‘अहिलेसम्मको यात्रा धेरै राम्रो भइरहेको छ र यूएईसँगको खेललाई हामी व्यग्र प्रतीक्षा गरिरहेका छौं ।’
सबै ३ खेल जितेर नेपाल समूह ‘बी’ को विजेता बनेको हो । नेपालले यसअघि घरेलु टोली ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरेको थियो । यूएई भने सोमबार बहराइनसँगको खेलमा निकै भाग्यमानी रह्यो । पहिला ब्याटिङ गरेको बहराइनले १७२–५ को स्कोर बनाएको थियो । यूएईलाई १ सय ५७ रनभित्र रोक्न सकेको भए बहराइन सेमिफाइनल पुग्ने थियो र नेपालसँग सेमिफाइनल खेल्ने थियो ।